| |

पाथीभरा याङ्वरकको पुँजीगत खर्च साढे ५८ प्रतिशत मात्र

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २३ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको पुँजीगत बजेट करिव साढे ५८ प्रतिशत मात्र खर्च भएको छ । चालू आर्थिक वर्ष सकिनै लाग्दा शुक्रबार सम्ममा पुँजीगत तर्फको बजेटमा निक्कै कम खर्च भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार शुक्रबार सम्ममा पुँजीगततर्फ कुल ५८।५२ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत बजेटको उक्त प्रतिशत बराबर खर्च हुँदा चालू तर्फको भने ७८।२३ प्रतिशत खर्च भएको निरौलाले जानकारी दिनुभयो । उहाँले अब आइतबार एक मात्र खर्च गर्ने अर्थात रकम निकासा गर्न पाइने भएकाले शुक्रबार सम्ममा भएको खर्च प्रतिशत केही बताउनुभयो ।
कर्मचारीको तलबभत्ता निकासा गर्न बाँकी रहेकाले चालूतर्फको खर्च बढेर ८३ प्रतिशतसम्म पुग्नसक्ने उहाँले जानकारी दिनुभयो । यस्तै केही सम्पन्न भइसकेको योजनाहरुको भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत तर्फको बजेट खर्च पनि करिव ६५ प्रतिशतसम्म पुग्ने उहाँको भनाइ छ । चालू आवका लागि पाथीभरा याङ्वरक गाउँपालिकाको पुँजीगत बजेट २२ करोड ३५ लाख ३६ हजार र चालूतर्फको बजेट ३० करोड ५८ लाख ५४ हजार रुपियाँ रहेको थियो ।
यता शनिबार आयोजित पाथीभरा याङ्वरक गाउँपालिकाको सार्वजनिक सुनुवाइमा सेवाग्राहीले गुनासो तथा असन्तुष्टिहरु पनि व्यक्त गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीप्रति सर्वसाधारण सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका हुन् । निर्वाचनका समयमा भोट माग्ने क्रममा गरेको प्रतिवद्धताअनुसार काम नगरी दिएकोभन्दै जनप्रतिनिधिमाथि सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । दलीय स्वार्थको रुपमा र पूर्वाग्राही ढंगबाट जनप्रतिनिधिहरुले काम गरिरहेका पनि सर्वसाधारणले आरोप लगाएका छन् ।
यस्तै गाउँपालिका तथा वडाका कर्मचारीबाट सहज सेवा नपाइएको सेवाग्राहीको गुनासो छ । सेवा लिन जाँदा छिटो, छरितो र सहज सेवा नदिने गरेको सर्वसाधारणले बताएका छन् भने कतिपय योजना फस्र्योटमा कर्मचारीले रकमसमेत माग्ने गरेको उनीहरुको आरोप छ । सार्वजनिक सुनुवाइमा पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत निरौला, वडाध्यक्षहरु, विषयगत क्षेत्रका कर्मचारी लगायतले सेवाग्राहीले उठाएका सवालको जवाफ दिँदै प्रस्ट्याउनुभएको थियो ।
उता, सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत लक्षित परिवारका घरघर पुगेर प्रवाह गरिएको सेवाको भने सेवाग्राहीले प्रशंसा गर्दै खुसीसमेत प्रकट गरेका छन् । सामान्य आर्थिक अवस्था भएका विपन्न परिवारलाई यस कार्यक्रमले ठूलो राहत पुगेको सेवाग्राहीको भनाइ रहेको छ । त्यस्तै गाउँपालिकाले विपन्न परिवारको पहिचान गरी घर निर्माण गरेर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको कार्यबाट पनि सर्वसाधारण प्रभावित छन् ।
यसरी जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने सकारात्मक कार्य तथा योजनालाई बढावा दिन र सबैको पहँच पुग्ने साथै सबैलाई समेट्नेगरी कार्यक्रम बनाएर प्रभावकारी कार्यान्वयन गर्नसमेत पालिकाबासी सेवाग्राहीको सुझाव रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts