राखेप बोर्डमा ६ सदस्य मनोनीत

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १६ — युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा ६ जनालाई मनोनीत गर्नु भएको छ  । मन्त्रालयबाट बिहीबार जारी विज्ञप्तिमा खेलकुद विज्ञ, प्रशिक्षक, प्राविधिक वा एन्टी डोपिङ विज्ञबाट प्रतिनिधित्व हुने गरी पूर्वकर्मचारी रिम रानाभाट र पूर्वभलिबल खेलाडी इन्दिरा निरौलालाई मनोनीत गरिएको उल्लेख छ  । निरौला यसअघि पनि राखेप सदस्य हुनुहुन्थ्यो भने रानाभाट राखेपको राष्ट्रिय टिम तयारी शाखा प्रमुख रहेर केही समयअघि अवकाश पाएका व्यक्ति हुनुहुन्छ । दुवै जना राखेप सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले गठन गरेको सिफारिस समितिका सदस्य समेत रहनु भएको थियो । ऐनमै उल्लेख भएअनुसार सम्बन्धित राष्ट्रिय खेलकुद संघको सिफारिसमा ५ जनामध्ये ३ जनालाई नियुक्त गरिएको छ । अनिवार्य दुई महिला नियुक्त हुन बाँकी छ । नियुक्त भएकामा बक्सिङ संघका उपाध्यक्ष तथा यसअघि पनि राखेप सदस्य रहेका अर्जुन केसी, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ र मुवाथाई संघका सम्पन्न श्रेष्ठ रहनु भएको छ  । श्रेष्ठ पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रहिसक्नु भएको छ । पर्यटकीय, परम्परागत र साहसिक खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई नियुक्त हुनु भएको छ । नयाँ ऐनले राखेपको बोर्ड ३७ सदस्यीय हुने प्रावधान छ । त्यसमध्ये १३ जना पदेन सदस्यका रूपमा छन् । बाँकी सदस्यको मनोनयन पनि मन्त्रीले नै गर्नहुने छ । ऐनमा उल्लिखित प्रावधानअनुसार पहिलोपल्ट प्रतिस्पर्धात्मक विधिबाट नियुक्ति पाएका सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार मात्र कार्यभार सम्हाल्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts