सरकारको लगानी र गैरसरकारी संस्थाको मेहनेत सम्झिएर कर्तव्यनिष्टहुन ताप्लेजुङका शिक्षकलाई सरोकारवालाको आग्रह

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २३ । जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले सरकारको लगानी र गैर सरकारी संस्थाको मेहनेतको सम्मान गर्दै आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट हुन नवनियुक्त शिक्षकहरुलाई आग्रह गर्नु भएको छ ।

प्राथमिक तह तृतीय श्रेणीमा ताप्लेजुङ कार्यक्षेत्र भई सिफारिस भएका शिक्षकहरुलाई नियुक्तिपत्र बितरण तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख लामाले दायित्व र जिम्मेवारी सहज ढंगले निर्वाह गर्ने हो भने कुनै समस्या नआउने बताउनुभयो ।‘शिक्षकको काम बिद्यार्थीलाई पढाउने मात्र होईन,जान्ने बनाउने पनि हो’लामाले भन्नुभयो । उहाँले म नियमित पढाईरहेको छु भनेर मात्र शिक्षकको दायित्व पूरा नहुने बताउँदै अब्बल नतिजा सहितको अर्थपूर्ण सिकाईका लागि शिक्षकले मेहनेत लगाउनुपर्ने बताउनुभयो । आफ्नो कला सहितको सिकाईले मात्र बिद्यार्थीको पढाई रचनात्मक हुने र रचनात्मक पढाईले नतिजा सुधारमा टेवा पु¥याउने उहाँको भनाई थियो । ताप्लेजुङमा गुणस्तरीय सिकाई र बिद्यालय पूर्वाधारका क्षेत्रमा काम गर्ने ह्युमन प्राटिक्स फाउण्डेसन(एचपीएफ) र ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड) नेपाल जस्ता निकायको सहयोगको प्रशंसा गर्दै लामाले सरकारको लगानी र गैर सरकारी संस्थाको मेहनेतलाई सम्झेर कार्य सम्पादन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आफ्नो जिम्मेवारीबाट च्युत नभई प्रभावकारी कार्य सम्पादन गर्ने क्रममा कुनै अप्ठ्यारो परिस्थिति आए त्यसको सहज समाधानमा आफु कुनै कसर बाँकी नराख्ने बताउनुभयो । प्रजिअ चेम्जोङले कर्तव्यमा अल्छेपन र दायित्वमा गैरजिम्मेवार बन्ने हो भने यसले सकारात्मक नतिजा नदिनेतर्फ सचेत हुन आग्रह गर्नु भएको छ ।‘असल र प्रभावकारी काम गर्दागर्दै पनि तपाँईलाई कुनै अप्ठ्यारो भए भन्नुहोस्,हामी त्यो असहजताको गाँठो फुकाउँछौं’प्रजिअ चेम्जोङले भन्नुभयो‘तर जिम्मेवारी पूरा नगरेका आधारमा आउने गुनासो सम्बोधन गर्ने कुनै ठाउँ नै हुदैन’ ।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले शिक्षकको काँधमा शैक्षिक उन्नयनको गहन जिम्मेवारी रहेको कुरालाई बिर्सन नहुने स्मरण गराउनुभयो । उहाँले असल र प्रभावकारी जिम्मेवारी निर्वाहले मात्र असल शिक्षकको पहिचान बताउने भएकोले सोहि अनुसार कार्य सम्पादन हुनेमा बिश्वास लिए । ताप्लेजुङमा पश्चिमको रुकुम,डडेल्धुरा,बझाङ,अछाम,बैतडी,दार्चुला,सल्यान,जाजरकोट,दैलेख सहितका जिल्लाका साथै मधेस प्रदेशका बिभिन्न जिल्लाबाट शिक्षकहरु नियुक्तिका लागि सिफारिस भएर आउनु भएको छ । बिहीबार प्राथमिक तहका १ सय ७७ जना शिक्षकलाई एकसाथ नियुक्ति पत्र हस्तान्तरण गरिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts