कियाचुद्वारा फुङ्लिङमा सामुहिक धान नाच आयोजना
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २१ । ताप्लेजुङमा सामुहिक धान नाच (याःलाङ) आयोजना गरिएको छ । लिम्बू जातिको जातीय संस्था किराँत याक्थुङ चुम्लुङको ३८ औं स्थापना दिवस तथा लाखेजात्रा पर्वको अवसरमा सामुहिक धान नाच आयोजना गरिएको हो ।
सदरमुकाम फुङ्लिङ बजारमा शनिबार लिम्बू समुदायको मौलिक संस्कृति धान नाच आयोजना गरिएको हो । किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ शाखाले आयोजना गरेको धान नाचमा जनप्रतिनिधि, कार्यालय प्रमुखसहित विभिन्न समुदायका युवा पुस्तादेखि ज्येष्ठ उमेरसम्मका नागरिक सहभागी हुनुभएको थियो ।
कोशी प्रदेशसभा सदस्य पूर्वमन्त्री खगेनसिंह हाङगाम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम लगायतका जनप्रतिनिधि सामुहिक धान नाच कार्यक्रममा सहभागी हुनुभएको थियो । यस्तै प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा प्रमुख तथा अन्य कर्मचारी धान नाचमा सहभागी हुनुभयो ।
लिम्बू मात्र नभई राई, शेर्पा, नेवार, ब्रामण, क्षेत्रीलगायत अन्य समुदायका नागरिकसमेत धान नाचमा सहभागी भएर रमानउनुभएको चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवा लिम्बूले जानकारी दिनुभयो । कङ्लिवाका अनुसार गरगहाना, पोसाकसहित मौलिक पहिरनमा सजिएर लिम्बू समुदायका युवा युवती, प्रौढ र ज्येष्ठ नागरिकले धान नाचमा सहभागिता जनाएका थिए । धान नाचसँगै शुभकामना आदानप्रदान गरेर चुम्लुङको स्थापना दिवस मनाइएको उहाँले बताउनुभयो ।
लिम्बू जातिको मौलिक संस्कृति तथा पूर्बेली समुदायमा निकै लोकप्रिय रहेको धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा र लामवद्ध भएर नाच्ने गरिन्छ । लिम्बू भाषामा जुहारी वा दोहोरी शैलीमा पाःलाम (गीत) गाउँदै धान नाचिन्छ । विषेशगरी लिम्बू समुदायमा हुने विवाह संस्कार, सुख–दुःखका कार्जे (काम) मा चेली–माइती र नाता सम्बन्ध नलाग्ने कुटुम्बबीच युवायुवतीदेखि जुनसुकै उमेरका नागरिकले धान नाच्ने चलन रहेको छ ।
विभिन्न उत्सव, अवसर तथा मेला र हाटबजारमा धान नाच्ने प्रचलन रहिआएको छ । यसअघि लाखे पर्वको रोपाइँ जात्राको दिन याक्थुङ चुम्लुङ ताप्लेजुङले पनि धान नाच आयोजना गरेको थियो । जनाएको छ । यता जाति विशेष पर्व तथा उत्ससहरुमा आ–आफ्नो संस्कृति प्रस्तुत गर्नु र साझा सहभागितामा मनाउनुले मौलिक संस्कार संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।