पाथीभरा केवलकार बिबाद:आन्दोलरत पक्षलाई बार्तामा आउन सरकारी बार्ताटोलीले बिहीबार औपचारिक पत्र लेख्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १४ । पाथीभरा केवलकार बिबादको बिषयमा बार्ता गर्न सरकारद्धारा गठित समितिले बिहीबार औपचारिक पत्र लेखेर आन्दोलनरत पक्षलाई बार्तामा सामेल हुन आग्रह गर्ने भएको छ ।
सरकारी बार्ता टोलीका संयोजक तथा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले बुधवार(आज)बिदाको दिन परेकोले बिहीबार सरकारकातर्फबाट आन्दोलनरत पक्षलाई बार्ताका लागि औपचारिक पत्र लेख्ने तयारी गरिएको जानकारी दिनुभयो । भट्टराईका अनुसार सरकारले मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिम र पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बूलाई बार्ताका लागि औपचारिक पत्र लेख्ने भएको छ ।
सोमवार साँझ सरकारी बार्ता टोलीका संयोजक भट्टराईले केवलकार निर्माण प्रकृया स्थगन गरी बार्ताद्धारा समस्या समाधान गर्नेगरी सरकारकातर्फबाट आन्दोलनरत पक्षलाई बार्तामा आउन आग्रह गर्नु भएको थियो । त्यसको प्रतित्युत्तर स्वरुप मंगलवार अपरान्ह आन्दोलरत पक्षले ४ बुँदे सर्त अघि सार्दै सर्त पूरा भएमा मात्र बार्तामा बस्ने बताएको थियो ।
आन्दोलनरत पक्षले मन्त्रिस्तरीय बार्ता टोली गठन गरी उक्त समितिमार्फत बार्ताका लागि आन्दोलनरत पक्षलाई औपचारिक रुपमा पत्र लेख्नुपर्ने सहितका ४ बुँदे सर्त अघि सारेको छ । सरकारले भने अहिले कायम रहेको गृह सहसचिव भट्टराई नेतृत्वकै बार्ताटोलीमार्फत आन्दोलनरत पक्षलाई बार्ताका लागि औपचारिक पत्र लेख्ने तयारी गरेको छ । आन्दोलनरत पक्षले आन्दोलनका क्रममा ताप्लेजुङ,सुनसरी लगायतका स्थानबाट पक्राउ गरिएकाहरुलाई बिना सर्त रिहाई गर्नुपर्ने तथा ताप्लेजुङ जिल्लामा जारी निशेधाज्ञा हटाउनुपर्ने सर्त राखेका छन् । फागुन १० गते मध्यरात देखि स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञा मंगलवार राति ११ बजेदेखि अन्त्य भइसकेको छ ।
फागुन १० गते साँझ वीरेन्द्र चौकमा ‘नो केवलकार’ पक्ष र सुरक्षाकर्मीबिच झपड हुँदा दुबै पक्षका गरी २४ जना घाइते भएका छन् । प्रहरीले हुलदंगा र उपद्रव गरेको अभियोगमा १७ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । यस्तै नो केवलकार’ पक्षधर घटकहरुले केवलकार निर्माण कार्य बन्द गरी निर्माणस्थलबाट सबै निर्माण सामग्री,ठेकेदार,कामदार,मजदुर फिर्ता हुनुपर्ने र पाथीभरा(मुम्कुमलुङ)क्षेत्रबाट सशस्त्र प्रहरी र जनपथ प्रहरी फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् ।