खोक्से–सुकेटारसम्मको सडक स्थानीय तह मातहत रहने व्यवस्थाका लागि सरकार समक्ष सिफारिस गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ८ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्ग अन्तरगत खोक्सेखोला देखि सुकेटारसम्मको सडक स्थानीय तहको मातहत रहने गरी सडक सीमा पुरनावलोकन गर्न सरकार समक्ष अनुरोधपत्र सहित सिफारिस गर्ने निर्णय लिएको छ ।

मेची राजमार्ग अन्तरगतको सडक सीमा बारे फुङलिङका स्थानीयसंग शुक्रवार वृहत्त छलफल गर्दै नगरपालिकाले सडक सीमा सम्वन्धी निर्णयका कारण रोक्का रहेका सम्पूर्ण घर जग्गाहरु फुकुवाका लागि नेपाल सरकार मन्त्रिपरिषद्मा अनुरोधका लागि नगरपालिकाकोतर्फबाट पत्राचार गर्ने निर्णय भएको नगरप्रमुख अमिर मादेनले जानकारी दिनुभयो । सरोकारवालासहितको वृहत्त छलफलले गरेको सडक सीमा पुनरावलोकन सम्वन्धी निर्णय र अनुरोध नेपाल सरकार मन्त्रिपरिषद्,सडक विभाग तथा सडक डिभिजन कार्यालय इलाममा पठाइने भएको छ ।

मेची राजमार्गको सडक सीमा सडकको केन्द्रभागबाट दायाँ–बाँया १५–१५ मिटर कायम गर्ने सम्वन्धी निर्णयले धेरै नागरिकहरुको उठिवास हुने सहितका कारण देखाउँदै नागरिकहरुको रायका आधारमा नगरपालिकाले यस्तो निर्णय लिएको जनाएको छ । सदरमुकामबाट करिव ५ किलोमिटर तल बहानन्देबाट मुख्य सडक तमोर करिडोर सडक निर्माण भई नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बततर्फ सडक बिस्तार भईसकेको र फुङलिङको तोक्मे क्षेत्रबाट नेपाल सरकारकै लगानीमा ‘बाइपास रोड’ समेत निर्माण भइरहेकोले फुङलिङ बजार क्षेत्रको सडक स्थानीय तह मातहत राख्न उपयुक्त हुने स्थानीयको राय सहित नगरपालिकाले सडक सीमा पुरनावलोकनका लागि सरकार समक्ष अनुरोध गर्ने निर्णय लिएको हो । बाह्रैकाल तीर्थालुहरु आउने तथा बर्षका मुख्य दुई सिजनमा पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको यात्रा सहजताका लागि तोक्मे क्षेत्रबाट सुरु भएको ‘बाइपास रोड’ले थेग्ने राय स्थानीयको रहेको छ ।

मेची राजमार्गको सडक सीमा सडकको केन्द्रभागबाट दायाँ–बाँया १५–१५ मिटर कायम गर्ने सम्वन्धी निर्णय कार्यान्वयनमा लैजाने गरी सरकारको तयारीका कारण सडकको दायाँ–बाँयाका जग्गाधनीहरु र आफ्नो सबै सम्पत्ति बेचेर २–४ आना जग्गा किनेर बसेका धेरै नागरिकहरु श्रीसम्पत्तिविहिन हुने भएकोले नागरिकहरुको संरक्षणका लागि सडक सीमा पुनरावलोकनका लागि सिफारिस गर्ने निर्णय भएको नगरपालिकाले बताएको छ ।

निर्णयमा मेची राजमार्गको सडक सीमाका कारणले बजारका सम्पत्तिहरु अचल अवस्थामा रहँदा धेरै नागरिकहरुले आफ्नो सम्पत्तिको उपभोग गर्नबाट बञ्चित भई आत्महत्यासम्मको जोखिम अवस्था दर्शाइएको छ । सडक डिभिजन कार्यालय इलामले २०८३ साल जेठ १३ गते मेची राजमार्गको सडक सीमा दयाँ १५ र बाँया १५ मिटर रहने भन्दै सडक सीमा क्षेत्रका पूर्वाधारहरु खाली गर्न पत्राचार गरेको थियो ।

Similar Posts