सेढाँइ धमाधम बिदाई लिदैं,दाहाल आइतवार आइपुग्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २५ । झण्डै साढे दश महिने कार्यकाल पूरा गरी पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा हुनु भएका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई विभिन्न निकायले बिदाई गरेका छन् ।
बिहीबार फुङलिङ नगरपालिकाले नगरप्रमुख अमिर मादेनको कार्यकक्षमा सेढाइँको बिदाई गरेको छ । नगरप्रमुख मादेन,उपप्रमुख भीमादेवी ओझा,प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगरसभा सदस्यहरु र कार्यालयका बिषयगत शाखाका प्रमुखहरुको उपस्थितिमा सेढाइँको बिदाई गरेको नगरप्रमुख मादेनका स्वकीय सचिव अञ्चल गुरुङले जानकारी दिनुभयो । सेढाइँलाई ताप्लेजुङ उद्योग वाणिज्य संघले समेत बिहीबारै बिदाई गरेको ताप्लेजुङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । यता,पाथीभरा क्षेत्र विकास समितिले समितिका सदस्यहरुको उपस्थितिमा सेढाइँको बिदाई गरिने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनुभयो । कर्मचारी मिलन केन्द्र,जिल्ला सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालय सहितका निकायले समेत सेढाँइको बिदाई गर्ने कार्यसूची रहेको छ ।
२०८२ साल भदौ ९ गते ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा पद वहाली गर्नु भएका सेढाइँको २०८३ साल असार २० गते पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ । पाल्पामा सहसचिव स्तरका प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । लामो समय स्थानीय तहमा रहेर काम गर्नु भएका सेढाइँ पत्रकारिता बिषय अध्ययन गर्नु भएका व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारीको रुपमा ताप्लेजुङमा नै पहिलो अनुभव भएपनि सेढाइँ समन्वयात्मक कार्यशैली,सेवाग्राहीमैत्री भावना र सहकार्यलाई प्राथमिकतामा राख्ने स्वभावका कारण कार्यकाल बिबादरहित बन्यो ।
ताप्लेजुङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहाल आउनु हुने भएको छ । दाहालले आफु आइतवार ताप्लेजुङ आइपुग्ने जानकारी दिनु भएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा दाहालको पनि यो पहिलो कार्यकाल हो । यसअघि खोटाङ,धनुषा सहितका जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्य सम्पादन गरिसक्नु भएका दाहाल जागिरे जीवनको अधिकाँस समय गृह प्रशासनमा रहँदै आउनु भएको छ । प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक सम्पादन गर्ने,स्वामीमान र सहअस्थित्वका आधारमा व्यवहार गर्ने,कानुन,नियम र शान्ति सुरक्षामा सम्झौता नगर्ने तर प्रचलित कानुन प्रतिकुल नहुने गरी व्यवहारिक कठिनाइ फुकाउन सहजीकरण गर्ने दाहालको स्वभाव रहेको उहाँका संगतिहरु बताउँछन् ।