नयाँ बर्षको पहिलो दिन पाथीभरामा दर्शनार्थीको भीड,१० महिनामा आए १ लाख ८० हजार दर्शनार्थी,झण्डै ३ करोड भेटी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १ । नयाँ बर्षको पहिलो दिन मंगलवार ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनार्थीको भिड लागेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिरको दर्शनका लागि भक्तजनहरु बिहानबाटै लाइन लागेर पूजाअर्चना गरिरहेका छन् ।‘अहिले नै संख्या अनुमान गर्न त सकिदैंन,तर मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै छ’महतले भन्नुभयो । गत शनिवार पाथीभरामा एकैदिन ७ हजार २२ दर्शनार्थी मन्दिर पुगेका थिए । महतले नयाँ बर्षको पहिलो दिन मन्दिरमा दर्शनार्थीको उपस्थिति निकै बाक्लो रहेको जानकारी दिनुभयो ।
यसैबिच चालु आर्थिक बर्षको साउन देखि चैत मसान्तसम्ममा पाथीभराबाट झण्डै ३ करोड रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यो अवधिसम्ममा २ करोड ९६ लाख ४२ हजार ६०० रुपैयाँ भेटि संकलन भएको छ । चालु आवको चैत मसान्तसम्ममा १ लाख ८० हजार ३०६ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि आएका क्षेत्र विकास समितिले जनाएको छ ।
सबैभन्दा बढी दर्शनार्थी चैत महिनामा आएका छन् । चैत महिनामा ४८ हजार १५५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । कात्तिक महिनामा ४२ हजार २६१ जना,असोज महिनामा २९ हजार १७४ जना,मंसिर महिनामा १९ हजार १८१ जना,फागुन महिनामा १८ हजार ६५२ जना,माघ महिनामा १० हजार ३२३ जना,पुस महिनामा ५ हजार ९११ जना,भदौमा ४ हजार ५०३ जना र साउन महिनामा २ हजार १४६ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि आएका छन् ।
सबैभन्दा बढी भेटी भने मंसिर महिनामा संकलन भएको छ । उक्त महिनामा ७५ लाख ४९ हजार १०० रुपैयाँ संकलन भएको क्षेत्र विकास समितिले जनाएको छ । चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपैयाँ,कात्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपैयाँ,असोज महिनामा ३३ लाख ८२ हजार रुपैयाँ,फागुन महिनामा ३१ लाख १० हजार रुपैयाँ,पुसमा २४ लाख २५ हजार रुपैयाँ,माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपैयाँ,साउन महिनामा १० लाख ३९ हजार रुपैयाँ र भदौ महिनामा ९ लाख ९७ हजार रुपैयाँ भेटि संकलन भएको क्षेत्र विकास समितिले जनाएको छ ।