सार्वजनिक शिक्षा सुधार अभियानको प्रभाव: मैवाखोलामा कक्षा ८ को उर्तीण प्रतिशत ५ बाट ५१ पुग्यो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २५ । सार्वजनिक शिक्षा सुधार अभियान अघि बढाइरहेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ को नतिजामा बर्षेनी सुधार आएको देखिएको छ ।
२०८० सालको परीक्षामा पालिका भरीमा ५ प्रतिशत मात्र उत्र्तीण भएपछि सार्वजनिक शिक्षा सुधारको अभियान थालेको मैवाखोलाका बिद्यालयले २०८२ सालको परीक्षामा कुल औसत उत्र्तीण ५१ प्रतिशत पुर्याएका छन् । गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार १ सय ८७ जना परीक्षार्थी रहेकामा ३४ जनाले मात्र कक्षा ८ को पढाईलाई दोहोर्याउनुपर्ने भएको छ । वनेमका अनुसार ५८ जना परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । पालिकाले कक्षा ८ को परीक्षामा दुई बिषयसम्म अनुर्तीण हुनेलाई मौका परीक्षा दिई ग्रेडबृद्धिको अवसर दिदैं आएको छ भने दुई बिषय भन्दा बढीमा आवश्यक जिपिए नल्याउने परीक्षार्थीले फेरि कक्षा ८ को पढाईलाई दोहोर्याउनुपर्ने नियम बनाएको छ । पालिकाका अनुसार ३५ जनाले एक बिषय र २३ जनाले दुई बिषय अनुर्तीण गरेका छन् । उनीहरुलाई पालिकाले ग्रेडबृद्धि परीक्षाको मौका दिने छ । पालिका अध्यक्ष वनेमले सार्वजनिक शिक्षा सुधारका लागि पालिकाले गरिरहेको प्रयत्न स्वरुप उत्र्तीण प्रतिशतमा ब्यापक सुधार आएको बताउनुभयो । उहाँका अनुसार २०८० सालको परीक्षामा पालिका भरीमा ५ प्रतिशत बिद्यार्थी मात्र उत्र्तीण भएका थिए । २०८१ सालमा ३५ प्रतिशत र ८२ सालमा ५१ प्रतिशत बिद्यार्थी उर्तीण भएको वनेमले बताउनुभयो ।
पालिका अध्यक्ष वनेमले यसलाई शिक्षा सुधारको स्पष्ट संकेत देखिएको रुपमा टिप्पणी गर्नु भएको छ । उहाँले सार्वजनिक शिक्षा सुधारको अभियानलाई थप परिस्कृत गर्दै पालिकाको शैक्षिक नतिजा सुधारको अभियान पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।‘निरन्तरले सुधारले देखाएको छ,हामीले प्रयास गर्दा परिवर्तन सम्भव रहेछ’सामुदायिक बिद्यालयको नतिजा सुधार भएपछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको छछ । मैवाखोला गाउँपालिकाका अधिकृत छैटौं अर्जुनकुमार घिमिरेका अनुसार पालिकाको सरस्वती आधारभूत बिद्यालयका सत प्रतिशत बिद्यार्थी उर्तीण भएका छन् । कक्षा ८ को परीक्षामा ८ वटा बिद्यालयका बिद्यार्थी परीक्षामा सामेल भएका थिए । २०८० साल देखि पालिकाले कक्षा ८ को परीक्षा माध्यमिक शिक्षा परीक्षा जस्तै अन्तर बिद्यालयमा केन्द्र तोकेर सञ्चालन गर्दै आइरहेको छ ।
दुई बिषय अनुर्तीण हुनेलाई मौका परीक्षा र सो भन्दा बढी बिषयमा अनुर्तीण हुनेलाई फेरि साविककै कक्षा दोहोर्याउनुपर्ने नियम बनाउँदै आएका मैवाखोला,फक्ताङलुङ र सिदिङ्वा गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका रणनीति समेत अघि सारेका छन् । मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाले भने वृहत्त शैक्षिक सम्मेलन गरी शिक्षा सुधारका लागि घोषणापत्र समेत जारी गरी कार्यान्वयनमा ल्याएका छन् । यहाँका अधिकाँस पालिकाले सार्वजनिक शिक्षा सुधारका लागि बिद्यालय र शिक्षकलाई अनुदान उपलब्ध गराउने देखि उत्कृष्ट बिद्यार्थीलाई प्रोत्साहन र पुरस्कृत गर्ने तथा दण्ड र जरीवाना समेतको कानुनी प्रवन्ध गरेका छन् । नेपालको संविधानले माध्यमिक तह(कक्षा १–१२)सम्मको शिक्षाको अधिकार स्थानीय तहको हुने व्यवस्था गरेको छ ।