|

ताप्लेजुङका आधा दर्जन सरकारी कार्यालय निमित्तका भरमा

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २५ । ताप्लेजुङ जिल्लामा आधा दर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित रहेका छन् । संघ तथा प्रदेश मातहतका कार्यालयहरु निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालनमा रहेका हुन् ।
हाल निमित्त प्रमुखको भरमा सञ्चालित कार्यालयहरुमा डिभिजन वन कार्यालय, मालपोत कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला हुलाक कार्यालय रहेका छन् । त्यस्तै जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाइ ताप्लेजुङ निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालित छन् ।
यहाँका मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, स्वास्थ्य लगायतका अधिकांश कार्यालय लामो समयदेखि निमित्त कार्यालय प्रमुखका भरमा सञ्चालन हुँदै आएका छन् । सम्बन्धित मन्त्रालय तथा विभागले कार्यालय प्रमुख नपठाउँदा निमित्तको भरमा उक्त कार्यालयहरु सञ्चालन रहेका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले बताउनुभयो ।
जिल्लामा संघ तथा प्रदेश मातहतका गरी सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना) दुई दर्जन कार्यालयहरु रहेका छन् । उक्त सङ्ख्यामध्ये बाँकी सबैमा कार्यालय प्रमुख रहनुभएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । स्थानीय तहतर्फ अहिले सबैमा कार्यालय प्रमखको पदपूर्ति भएको छ ।
जिल्लामा रहेका नौ वटै स्थानीय तहअन्तर्गत केही रिक्त रहेको ठाउँमा पनि भर्खरै कार्यालय प्रमुख अर्थात प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति भएको हो । गत चैत १८ गते सरकारले कार्यालय प्रमुख रिक्त रहेका यहाँको मैवाखोला गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मेरिङ्देन गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
जिल्लाका बाँकी पाँच वटा स्थानीय तहमा पहिलेदेखि नै कार्यालय प्रमुख अर्थात प्रमुख प्रशासकीय अधिकृत रहनुभएको थियो । यता कार्यालय प्रमुख नहुँदा केही कार्यसम्पादनमा असहजता हुनुका साथै सुशासन लगायतमा कमजोर अवस्था सिर्जना हुने गरेको पाइएको छ ।

Similar Posts