मैवाखोलाले अर्थ तथा सामाजिक लेखा समिति बनाउने,जाँचबुझ र अनुगमन समेतको अधिकार
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २६ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको अर्थ तथा सामाजिक लेखा समिति बनाउने गरी प्रकृया अघि बढाएको छ ।
पालिकाले वित्तीय व्यवस्थापनमा मितव्ययिता र पारदर्शीता कायम राख्न तथा पालिका सभाको नियमित कार्यमा सहयोग पु¥याउने उद्देश्यले अर्थ तथा सामाजिक लेखा समिति गठन गर्नेगरी कार्यविधि तयार गरेको छ । कार्यविधि अनुसार पालिकाको काम कारवाही तथा आर्थिक कारोवारमा पारदर्शीता,जवाफदेहिता र विधिको पालनालाई प्रर्वद्धन गरी अनुशासित अभिवृद्धिमा सघाउन अर्थ तथा सामाजिक लेखा समिति गठन गर्न लागिएको हो । गाउँसभाका कुनै सदस्यको संयोजकत्वमा गठन हुने यस्तो समिति कम्तिमा तीन र बढीमा ५ सदस्यीय हुने कार्यविधिले भनेको छ । कार्यविधि अनुसार गाउँसभाका कुनै एक सदस्य समितिको संयोजक हुनेछन् । सामान्यतया गाउँ कार्यपालिकाको सदस्य रहेको व्यक्ति समितिको संयोजक र सदस्य हुन नपाउने व्यवस्था कार्यविधिले गरेको छ । समिति गठनलाई समावेशी बनाइने छ भने बिषयगत अनुभव र विज्ञताका आधारमा समितिका सदस्यहरु तोक्ने अधिकार संयोजकलाई रहने कार्यविधिमा उल्लेख गरिएको छ । आन्तरिक लेखा परीक्षण अधिकृत वा आन्तरिक लेखा परीक्षण कर्मचारी वा आर्थिक प्रशासन सञ्चालनमा नरहेका कर्मचारीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइने कार्यविधिमा भनिएको छ ।
समितिले पालिकाका वित्तीय सुशासन कायम गरी नियमितता,मिव्ययिता,कार्यदक्षता,प्रभावकारीता र औचित्य पुष्टी हुनेगरी आर्थिक प्रशासन सञ्चालन गर्न गराउन आवश्यक नीति,योजना र कार्यक्रमको सुझाव गर्ने छ । बार्षिक बजेटले अनुमान गरे बमोजिम राजश्व संकलन तथा स्रोत परिचालन भए नभएको मूल्याङ्कन गरी लक्ष्य प्राप्तिका लागि कार्यपालिकालाई आवश्यक सुझाव दिने,बार्षिक बजेट तथा कार्यक्रम लैंगिक उत्तरदायी तथा समावेशी प्रकृतिको भए नभएको मूल्याङ्कन गरी कार्यपालिकालाई सुझाव दिने,गाउँ कार्यपालिकाको आर्थिक कारोवारको लेखाङ्कन प्रणालीको अनुमगन गर्ने,कार्यपालिकाको आर्थिक कारोवार सम्वन्धमा कुनै बिशेष अनियमितता तथा दुरुपयोग भएको हुन लागेको जानकारी प्राप्त भएमा अध्ययन अनुसन्धान गर्ने र पालिकाको समस्त वित्तीय काम कारवाहीमा आवश्यक सुधारको अध्ययन तथा अनुसन्धान गरी सुझाव दिने काम पालिकाको अर्थ तथा सामाजिक लेखा समितिले गर्ने कार्यविधिमा भनिएको छ ।
समितिले पालिकाको आर्थिक कारोवारको आन्तरिक तथा अन्तिम लेखा परीक्षण समयमा भए नभएको हेर्ने,आन्तरिक तथा अन्तिम लेखा परीक्षणका क्रममा औंल्याईएका व्यहोरा तथा बेरुजुको लगत अभिलेख व्यवस्थित रुपमा राख्न तथा विगतमा औंल्याईएका बेरुजु फस्र्योटको अद्यावधिक प्रगति तयार गर्न कार्यपालिका तथा सम्वद्ध अधिकारीलाई जिम्मेवार बनाई सोको अनुमगन गर्ने कार्य समेत गर्नेछ । यस्तै समितिको कार्यक्षेत्र भित्रका उजुरी,गुनासो र सञ्चारमाध्यममा आएका बिषय,सरोकारवालाको चासो एवम् समितिले आवश्यक ठानेका बिषयमा जाँचबुझ गरी आवश्यक सुझाव दिने,गाउँपालिकाको पूर्ण वा आशिंक ऋण वा अनुदान वा साझेदारीमा सञ्चालित संस्था र कार्यक्रमको वित्तीय भौतिक प्रगतिको जाँच गरी आवश्यक निर्देशन दिने,पालिका भित्रका पुँजीगत खर्चबाट बनेका विकास निर्माणका पूर्वाधारको अभिलेख,मर्मतसम्भार तथा संरक्षण र उपयोगमा ध्यान दिने,पालिकाका सम्पत्तिको उचित संरक्षण,प्रयोग तथा लिलाम बिक्री गर्न निर्देशन दिने र आफुले गरेका निर्णय,दिएका सुझाव तथा निर्देशन कार्यान्वयन अवस्थाको सोको व्यहोरा प्रतिबेदनमा समावेश गर्ने जिम्मेवारी अर्थ तथा सामाजिक लेखा समितिको हुने कार्यविधिमा उल्लेख गरिएको छ ।