मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सुरु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १४ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई तालिम दिन सुरु गरेको छ ।

दुई चरणमा विभाजन गरी तालिम दिन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार बिहीबार फक्ताङलुङ गाउँपालिका,सिदिङ्वा गाउँपालिका,मिक्वाखोला गाउँपालिका तथा मेरिङेन गाउँपालिका र मैवाखोला गाउँपालिका वडा नं ५ र ६ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइने छ । शुक्रवार फुङलिङ नगरपालिका,आठराई त्रिवेणी गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिकाका सबै वडा तथा मेरिङदेन गाउँपालिका तथा मैवाखोला गाउँपालिकाका वडा नं १,२,३ र ४ नम्बर वडामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिईने जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । तालिमको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले उद्घाटन गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष शिवराज सेढाइँले तालिमका मतदान अधिकृतले मतदानको समयमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना भएको बताउनुभयो । सेढाइँले तालिम अवधिमा खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको कर्तव्य,जिम्मेवारी र भूमिका प्रष्ट्याइने जानकारी दिनुभयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रत्येक केन्द्रमा मतदान अधिकृत एक,सहायक मतदान अधिकृत एक र सहायक कर्मचारी तीन तथा कार्यालय सहयोगी एक गरी कुल ६ जनाका दरले कर्मचारी खटाउने गरी मतदान केन्द्रमा खटिने कर्मचारी तोकिसकेको छ । ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन् ।

फागुन २१ गतेको निर्वाचनका लागि यहाँ ९० हजार ३ सय २७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको यहाँ १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । पहिलो दिनको तालिम उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,कार्यालय प्रमुखहरु,निर्वाचन आचार संहिता अनुगमन अधिकृतहरु समेतको सहभागिता रहेको छ ।

Similar Posts