तेल्लोकमा स्थापना हुने इलाका प्रशासनका लागि एक शाखा अधिकृत सहित ६ जनाको दरबन्दी कायम
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा स्थापना हुने इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा ६ जना कर्मचारीको दरबन्दी कायम भएको छ ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठद्धारा दरबन्दी कायम प्रमाणित भएको कागजात सहितको पत्र पालिकामा प्राप्त भएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्दै २०८२ भित्रै इलाका प्रशासन कार्यालयको सेवा प्रवाह सुरु हुने बताउनु भएको छ । इलाका प्रशासन कार्यालयमा अब नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)तहका १ जना,सोहि सेवा र सोहि समूहका राजपत्र अनंकित प्रथम श्रेणीका(नायव सुब्बा) २ जना,नेपाल विविध सेवाका राजपत्र अनंकित प्रथम श्रेणीका(नायव सुब्बा)कम्प्युटर अपरेटर १ जना र नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह कार्यालय सहयोगी २ जना खटिने छन् ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि उक्त कार्यालयबाटै नागरिकता प्रदान सहितका सेवा सुरु हुनेछन् । सिरिजङ्गा,सिदिङ्वा र पाथीभरा याङवरक गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी तेल्लोक इलाका प्रशासन कार्यालयमार्फत सेवा प्रवाह गर्ने योजना बनाईएको छ । तर,यसका लागि सम्वन्धित वडा कार्यालय हुँदै कार्यपालिकाले तेल्लोक इलाका प्रशासन कार्यालयमार्फत सेवा लिन इच्छुक रहेको निर्णय जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयसम्म पठाउनुपर्ने हुन्छ ।