कर्मचारी निष्काशनको बिरोध र आर्थिक अनुशासन कायम राख्न माग गर्दै मिक्वाखोला गाउँपालिका कार्यालयमा तालाबन्दी

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २१ । कर्मचारीलाई बिना कारण बर्खास्त गरिएको र पालिकामा आर्थिक अनुशासन कायम गर्न नसकेको भन्दै नेपाली काँग्रेस मिक्वाखोला गाउँपालिका कार्य समितिको अगुवाईमा बुधवार पालिकाको प्रशासकीय भवनमा तालाबन्दी भएको छ ।

नेपाली काँग्रेस मिक्वाखोला गाउँपालिका कार्य समिति उपसभापति दीपेन्द्र लिवाङले कोणसभामामार्फत पालिका नेतृत्वबाट जनता कुरा नसुन्ने प्रवृत्ति हावी भएको,जलविद्युत परियोजनाको सामाजिक उत्तर दायित्व अन्तरगतको रकम पारदर्शी नभएको,बिना कारण कर्मचारी बर्खास्त गरिएको भन्दै उक्त कदम नसचिएसम्म तालाबन्दी कायम रहने बताउनुभयो ।

बुधवार कार्य समितिले प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमलाई पत्र लेख्दै तालाबन्दीको जानकारी गराएको थियो । कार्य समिति उपसभापति लिवाङका अनुसार गौतमलाई लेखिएको यो पत्र अगाडि पालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामालाई ध्यानाकर्षण गराइ सकिएको छ ।

पत्रबारे पालिका पदाधिकारीबाट कुनै सुनुवाई नभएकोले तालाबन्दीमा उत्रिनु परेको उहाँले बताउनुभयो । बार्ता र सम्बाद नगरी जबरजस्त ताला फोडे थप चरणबद्ध र सशक्त आन्दोलन गर्ने लिवाङको दावी रहेको छ । तालाबन्दी पछि कार्यालयको कामकाज ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो ।

Similar Posts