सिद्धार्थ बैंकद्धारा ओलाङचुङगोलाका जेष्ठ नागरिक तथा फरक क्षमताका व्यक्तिलाई न्यानो सिरक प्रदान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २० । सिद्धार्थ बैंक लिमिटेडको ताप्लेजुङ शाखाले ताप्लेजुङको उत्तरी हिमाली क्षेत्र ओलाङचुङगोलाका जेष्ठ नागरिक तथा फरक क्षमता भएका २० जनालाई न्यानो सिरक प्रदान गरेको छ ।

दुर्गम तर महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा समेत परिचित फक्ताङलुङ गाउँपालिका वडा नं ७ मा पर्ने ओलाङचुङगोलामा आफैं उपस्थित भएर बैंकका प्रतिनिधिले संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत ५० हजार मूल्य बराबरको न्यानो सिरक बितरण गरिएको सिद्धार्थ बैंक लिमिटेडको ताप्लेजुङ शाखाका प्रवन्धक घनेन्द्र गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन वालुङ शेर्पाले दुर्गम गाउँका स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोगप्रति सहयोगी निकायलाई आभार व्यक्त गर्नु भएको छ । कार्यक्रममा ओलाङचुङगोलाका वडा सदस्य फुपुल्हामु शेर्पाले सहयोगप्रति सिद्धार्थ बैंक लिमिटेडलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

समुद्र सतहबाट करिव ३ हजार २ सय मिटर उचाईमा रहेको ओलाङचुङगोला ऐतिहासिक स्थलको रुपमा परिचित छ । करिव ५ सय बर्ष पुरानो दिकी छ्योलिङ गुम्बा रहेको ओलाङचुङगोला झुरुप्प परेको बस्ति हो । ओलाङचुङगोलाबाट नेपाल–तिब्बत सीमा नाका टिपताला पुग्न करिव २५ किलोमिटर दूरी पार गर्नुपर्छ । यसअघि पनि सिद्धार्थ  बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रममार्फत सार्वजनिक मठमन्दिरमा रंगरोगन  गर्ने,विभिन्न बिद्यालयहरुमा टेवल तथा दराज हस्तान्तरण गर्ने र बिरामीलाई लक्षित गरी ताप्लेजुङ जिल्ला अस्पताललाई ह्विल चेयर र डस्बिन प्रदान गर्ने कार्य गरेको थियो । यस्ता अभियानलाई थप निरन्तरता दिइने बैंक शाखा प्रवन्धक गुरुङले जानकारी दिनुभयो ।

Similar Posts