अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङको तयारीमा जुट्यो सिदिङ्वा,आवास स्थल देखि उपभोग्य मूल्य निर्धारण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १८ । माघ २३ बाट आफ्नो पालिकामा हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि सिदिङ्वा गाउँपालिकाले उपभोग्य बस्तुको मूल्य निर्धारण गरेको छ ।
सिदिङ्वाले सबै स्थानीय तहबाट सहभागी हुने खेलाडी तथा निर्णयकर्तासम्मलाई आवासको प्रवन्ध गरी आवासस्थल समेत तोकेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाको केन्द्र साब्लाखुस्थित टावर डाँडामा सञ्चालन हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका क्रममा व्यक्तिगत घर तथा होटलहरुमा एकरुपता कायम गर्न खाना र नास्ता सहितको दररेट निर्धारण गरिएको हो । तोकिएको दररेट अनुसार आवास सहित सादा खानाको जनही २ सय ५० रुपैयाँ र मासु खानाको जनही ३ सय ५० रुपैयाँ तिर्नुपर्ने छ । यस्तै खाजा अन्तरगत अण्डा चनाको जनही ८० रुपैयाँ,सादा थुक्पाको ७० रुपैयाँ र मासु थुक्पाको १ सय रुपैयँ तोकिएको छ । मःम खाजा अन्तरगत साधाको १ सय रुपैयाँ र नन् भेजको १ सय ५० रुपैयाँ कायम गरिएको छ । पुरी सब्जी,सुख्खा रोटी तरकारी र भेज चाउमिनको ८० रुपैयाँ,नन् भेज चाउमिनको १ सय ५० रुपैयाँ,भेज चाउचाउको ४० रुपैयाँ र अण्डा चाउचाउको ७० रुपैयाँ मूल्य तोकिएको छ ।
दही चिउराको ६० रुपैयाँ,समोसा प्रतिगोटा २० रुपैयाँ,कालो चिया १५ रुपैयाँ,दुध चिया २० रुपैयाँ,कालो कफी ३० रुपैयाँ,दुध कफी ५० रुपैयाँ हुनेगरी मूल्य निर्धारण गरिएको पालिकाले जनाएको छ । यस्तै ब्रोईलर मासु चिउरा १ सय ४० रुपैयाँ,भेडा मासु प्रतिप्लेट २ सय रुपैयाँ,लोकल कुखुरा,खसी मासु चिउरा प्रतिप्लेट १ सय ५० रुपैयाँ मूल्य तोकिएको छ भने विभिन्न प्रकारका पेय पदार्थ उक्त पदार्थमा लेखिएको दररेटका आधारमा बिक्री गर्नेगरी मूल्य निर्धारण गरिएको पालिकाले जनाएको छ । माघ २३ देखि २६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने पालिकाका खेलाडी र अफिसियलहरुका लागि पालिकाले आवास स्थल समेत तोकेको छ । आठराई त्रिबेणीको टिम दयाराम गौतमको घरमा,सिरिजङ्गा गाउँपालिकाको टिम खोम गौतमको घरमा र फक्ताङलुङ गाउँपालिकाको टिम कमल लिम्बू,दीपक लिम्बू र दुर्गामाया लिम्बूको घरमा बस्नेगरी प्रवन्ध गरिएको छ । फुङलिङ नगरपालिकाको टिम अमृत लिम्बू र डेनी तामाङको घरमा बस्ने छ भने पाथीभरा याङवरक गाउँपालिकाको टिम धोजबिर लिम्बू र अनिसा तामाङको घरमा रहनेगरी व्यवस्थापन गरिएको छ ।
मेरिङदेन गाउँपालिकाको टिमलाई दीपेश बेघाको घरमा रहँदा मैवाखोला गाउँपालिकाको टिमलाई अमर लिम्बू,निर्मला तामाङ र निमारेञ्जी तामाङको घरमा व्यवस्थापन गरिएको छ । मिक्वाखोला गाउँपालिकाको टिम चन्द्र तामाङ,कृष्णमाया लिम्बू,असलबहादुर लिम्बू र आइन्द्र लिम्बूको घरमा रहने छ । फुर्वा तामाङ र आरती राईको घरमा अफिसियल टिम र छत्र तामाङको घरमा आयोजक जिल्ला खेलकुद विकास समितिको टिमलाई व्यवस्थापन गरिएको पालिकाले जनाएको छ । सिदिङ्वामा हुने १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६६ स्वर्ण,६६ रजत र ७० कास्य पदकका लागि स्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)ले जानकारी दिनुभयो ।