ताप्लेजुङमा तोकिए निर्वाचन आचार संहिता अनुगमन अधिकृत,आचार संहिताको पूर्ण पालना गर्न आग्रह
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १५ । निर्वाचन आचार संहिताको अनुगमन गर्न ताप्लेजुङमा आचार संहिता अनुगमन अधिकृत तोकिएका छन् ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार आचार संहिताको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई तथा कोष नियन्त्रक यमनाथ गिरीलाई अनुगमन अधिकृत तोकिएको छ । यसबाहेक मुख्य निर्वाचन अधिकृतको कार्यालय,जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले समेत आचार संहिताको पालना भए नभएको बारे सुक्ष्म निगारानी गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचार संहिता २०८२ ले निशेध गरेका गतिविधिहरु कोहि कसैले गरेको भए मुख्य निर्वाचन अधिकृतको कार्यालय,जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा उजुरी गर्न सक्ने समेत जनाएको छ । आचार संहिताले निशेध गरेका गतिविधिहरु भए गरेको पाईए आचार संहिता अनुगमन अधिकृत भट्टराईको मोवाइल नम्बर ९८५२६६०२७० र अर्का अनुगमन अधिकृत गिरीको मोवाइल नम्बर ९८५२०३७९९९ मा सम्पर्क गर्न सकिने समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्र,स्वच्छव,निश्पक्ष,मितव्ययी तथा भयभुक्त वातावरणमा सम्पन्न गराउन आचार संहिता लाग्ने सबै सरोकारवालालाई आचार संहिताको पूर्ण पालना गर्न सचेत समेत गराएको छ । सरकारले गत पुस १२ गते प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि नेपाल राजपत्रमा निर्वाचन आचार संहिता प्रकाशित गरी निर्वाचन आयोगले कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आचार संहिताले आफुलाई लाभ हुने वा अरुलाई हानी हुने वा आम मानिसलाई झुक्याउने बद्नियतका साथ जानीजानी लगत वा भ्रामक सूचना सम्प्रेषण गर्ने देखि द्धेषपूर्ण अभिव्यक्ति दिनसम्म बन्देज गरेको छ । प्रत्यक्ष वा परोक्ष रुपमा जाति,राष्ट्रिय वा जातीय उत्पत्ति,धर्म,लैंगिकता,उमेर,अपाङ्गता वा अन्य अपरिवर्तनीय समूहलाई ईंगित गर्दै असहिष्णुता वा घृणा फैलाउने वा हिंसालाई बढावा दिने खालका बचन लिखत वा व्यवहार गर्न प्रतिवन्ध गरेको छ । निर्वाचनका क्रममा वातावरणमैत्री सामग्रीको प्रयोग गर्न,जैविक रुपले नष्ट नहुने वा वातावरणमा हानी पु¥याउने कागज सहितका सामग्रीको प्रयोग नगर्न समेत आचार संहितामा भनिएको छ ।
आचार संहिताले सामाजिक सञ्जालको गलत प्रयोगमा प्रतिवन्ध गरेको छ भने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट,कमिज,टिसर्ट,भेष्ट,टोपी वा क्याप,मास्क,गम्छा,लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर,लोगो,झोला,ब्याग,ट्याटु जस्ता सांकेतिक सामग्रीको उत्पादन,प्रयोग,बिक्रीबितरण वा प्रर्दशन गर्न प्रतिवन्ध गरेको छ । आचार संहिताले सार्वजनिक आवागमनमा अवरोध हुनेगरी कुनै किसिमको जुलुस,आमसभा,कोणसभा,बैठक,भेला गरी निर्वाचन प्रचारप्रसार गर्न प्रतिवन्ध गरेको । यस्तै बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने आचार संहितामा उल्लेख गरिएको छ । आचार संहिताले कसैको चरित्र हत्या गर्न,व्यक्तिगत लाञ्छना लगाउन,मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमद्धारा प्रकाशन वा प्रसारण गर्नमा प्रतिवन्ध गरेको छ ।