मेरिङदेनले प्राङ्गारिक मल उत्पादक किसानको सूचीकरण गर्दै,रसायनिक मलको प्रयोग घटाउन स्थानीय तह अग्रसर
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १३ । प्राङ्गारिक मल उत्पादनतर्फ ताप्लेजुङका स्थानीय तहले बढाएको सक्रियताको सूचीमा मेरिङदेन गाउँपालिका पनि थपिएको छ ।
प्राङ्गारिक खेति प्रर्वद्धन कार्यक्रमलाई साथ दिन मेरिङदेन गाउँपालिकाले प्राङ्गारिक वा जैविक मल उत्पादक किसानको सूचीकरण गर्ने भएको छ । सूचीकरण भएका किसानबाट पालिका भित्रका किसानले प्राङ्गारिक वा जैविक मल खरिद गरेमा पालिकाले किसानलाई प्रति किलोग्राम वा प्रतिलिटर १० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ । खेतिको बलियो सम्भावना भएको मेरिङदेन गाउँपालिकाको खेति प्रणाली प्राङ्गारिक स्वरुपको बनाउन पालिकाले यस्तो अभियान अघि सारेको हो । यसका लागि पालिकाले १० लाख रुपैयाँ खर्च गर्ने छ । चालु आर्थिक बर्षका लागि कोशी प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमबाट प्राङ्गारिक खेति प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले जानकारी दिनुभयो ।
९ स्थानीय तह रहेको ताप्लेजुङमा मैवाखोला गाउँपालिकाले पालिकामै प्राङ्गारिक मल उत्पादन उद्योग स्थापनाको प्रकृया आरम्भ गरिसकेको छ । मल उत्पादन उद्योग स्थापनाको ठेक्का समेत लागिसकेको मैवाखोलामा चालु आवमै पालिका भित्रै मल उत्पादन उद्योग सञ्चालनमा आउने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । यता फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाले समेत प्राङ्गारिक मल उत्पादन गर्ने किसानको सूचीकरण गरी सूचीकरण भएका किसानबाट मल खरिद गरेवापत किसानलाई प्रतिकिलो वा प्रतिलिटर १० रुपैयाँका दरले अनुदान दिने भएको छ ।
तरकारी बाली,फलफुल बाली,तेलहन,दलहन सहित प्रमुख नगदेवाली अलैंची समेतको बलियो सम्भावना रहेको ताप्लेजुङका स्थानीय तहले धमाधम प्राङ्गारिक खेतितर्फ सक्रियता बढाएका छन् । आठराई त्रिबेणी र पाथीभरा याङवरक गाउँपालिकाले किसानलाई जैविक खेतितर्फ आर्कषण गर्ने गरी यसअघिबाट नै कार्यक्रम बढाइरहेका छन् । सिदिङ्वा,फक्ताङलुङ र मिक्वाखोला गाउँपालिकाले किसानलाई खेतिका लागि बिरुवा उपलब्ध गराउने देखि प्राङ्गारिक उत्पादनमा जोड दिन रसायनिक मलको बिस्थापन र प्राङ्गारिक वा जैविक मल उत्पादन गर्ने कार्यक्रम प्रयोगमा ल्याइरहेका छन् ।