निर्वाचनका लागि ताप्लेजुङमा तीनघेरे सुरक्षा रणनीति,करिव पन्ध्रसय सुरक्षाकर्मी परिचालन हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १० । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि तीनघेरे सुरक्षा रणनीति लिएको ताप्लेजुङस्थित जिल्ला सुरक्षा समितिले करिव एक हजार पाँचसय सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान र निर्वाचन प्रहरी समेत गरी करिव पन्ध्रसय सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालित हुनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित हुनेगरी सुरक्षा तयारी रहेको सेढाइँले जानकारी दिनुभयो । यसबाहेक सुरक्षा सूचना र विश्लेषणका क्रममा राष्ट्रिय अनुसन्धान तथा सादा पोशाकमा प्रहरी समेत परिचालन गरिने छ । ८ सय ९२ जना निर्वाचन प्रहरीको माग भएको ताप्लेजुङमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वलतर्फ गरी कुल ९ सय ५० जनाको आबेदन परेपनि शनिवार र आइतवारका लागि समय थप गरेर निर्वाचन प्रहरीको थप आबेदन माग गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुुसार ८ सय ९४ जनाले जिल्ला प्रहरी कार्यालयमार्फत र ५६ जनाले सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामार्फत आबेदन दिएपनि दुईदिन समय थप गरेर निर्वाचन प्रहरीको माग गरिएको छ । यसपटक सशस्त्र प्रहरीवलका साथ पनि निर्वाचन प्रहरी परिचालित हुनेछन् । थप भएको समयमा परेका आबेदन समेतलाई मिसाएर निर्वाचन प्रहरीको छनौट गरिने जिल्लास्थित सुरक्षा निकायले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङका २८ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौती विश्लेषण गर्दै मतदानस्थलको वर्गीकरण गरेको हो । जिल्लाका कुल ८० मतदानस्थलमध्ये २८ वटालाई अति संवेदनशील,२५ वटालाई संवेदनशील र २७ वटालाई सामान्य सूचीमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष सेढाइँले जानकारी दिनुभयो । अघिल्लो निर्वाचन (२०७९) मा ७५ वटा मतदानस्थल रहेकोमा यस वर्ष ५ वटा थप भई ८० पुगेको छ । जिल्लाभर कुल १ सय २७ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल(बिपिन)का अनुसार आगामी निर्वाचनका लागि जिल्लामा ९० हजार ३ सय २७ मतदाता छन् । यो संख्या २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा २ हजार ४२ ले बढी हो । २०७९ सालमा यहाँ ८८ हजार २ सय ८५ मतदाता थिए ।

Similar Posts