उज्यालो नेपाल पार्टीबाट मादेन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट लावुङ उम्मेदवार बन्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ४ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा राजनीतिक दलहरुले धमाधम उम्मेदवार बारे निर्णय गर्न थालेका छन् ।

उज्यालो नेपालले कीर्तिमान मादेनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ । मादेनले पार्टीले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आफुलाई अघि सारेको जानकारी दिनुभयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मञ्चका संघीय सदस्य मुक्साम लावुङलाई अघि सार्न खोजेको छ ।  उता श्रम संस्कृति पार्टीबाट टिकट निश्चित भएसंगै सन्तोष राईले जिल्ला समन्वय समिति सदस्यबाट राजीनामा दिने तयारी गर्नु भएको छ । नेपाली कम्युनिष्ट पार्टीले खेलप्रसाद बुढाक्षेत्रीलाई टिकटै थमाइसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति वीरेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणासंगै चुनावी अभियान चलाइरहनु भएको छ । एमालेले ताप्लेजुङको उम्मेदवार टुङ्ग्याएको छैन । उपमहासचिव योगेशकुमार भट्टराई,केन्द्रीय सदस्यद्धय तिलकुमार मेन्याङ्वो र क्षितिज थेबे,निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझाको नाम सिफारिस भएपनि ताप्लेजुङका उम्मेदवारबारे एमाले सचिवालय बैठकले निर्णय गरेको छैन । काँग्रेस ताप्लेजुङले जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम पठाएपनि काँग्रेसमा देखिएको पछिल्ला घटनाक्रमसंगै उम्मेदवारको अन्तिम निर्णय लाग्न बाँकी छ ।

कतिपयले जिल्ला समितिबाट गएको तुम्याहाङको एकल नाममा पार्टीको कोशी प्रदेश समितिले बिगठित प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमको नाम समेत थप गरेर पठाईएको बताईरहेका छन् । यसको आधिकारिकता पुष्टी हुन बाँकी छ । अन्य पार्टीले उम्मेदवार बारे अहिलेसम्म आधिकारिक बताइसकेका छैनन् । तर यहाँ क्रियाशिल करिव एकदर्जन बढी राजनीतिक दलका प्रतिनिधि मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेका निर्वाचन सम्वन्धी छलफलमा नियमित सहभागी भइरहेका छन् । यसले यहाँ क्रियाशिल सबै राजनीतिक दलले उम्मेदवार खडा गर्ने संकेत देखिएको छ ।

Similar Posts