ताप्लेजुङ जिल्ला अदालत परिसरमै स्थापना भयो मुख्य निर्वाचन अधिकृतको कार्यालय

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

ताप्लेजुङ जिल्ला अदालत परिसरमै स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस विकास श्रेष्ठले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले फागुन २१ गतेका लागि तय भएको निर्वाचन स्वतन्त्र,निश्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न मुख्य अधिकृतको कार्यालय तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचन आचार संहिताको पालनामा सरोकारवालापक्ष पूर्ण रुपले प्रतिवद्ध र अनुशासित हुनुपर्नेमा जोड दिनुभयो । पछिल्ला दिनहरुमा निर्वाचन आचार संहिताको उल्लंघनमा विद्युतीय माध्यमको गलत प्रयोग भइरहेको भन्दै यसबिरुद्ध चनाखो भइदिन र निर्वाचन आचार संहिताको पूर्ण पालनामा इमान्दार बन्न उहाँले आग्रह गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले तोकिएको जिम्मेवारी पूरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताउँदै सुरक्षाको बिषय सम्वन्धित निकायले प्रत्याभूत गराउने भन्दा पनि आम नागरिकले अनुभूत गर्ने बिषय भएकोले निर्वाचनका सरोकारवालाले सुरक्षाको पूर्ण अनुभूत गर्नेगरी सुरक्षा प्रदान गर्न आफुहरु तयार रहेको बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै शुक्रवारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै कार्यालयबाटै शुक्रवारबाट निर्वाचनका अरु कार्यक्रम र कार्यतालिका प्रकाशित गरिने सहायक निर्वाचन अधिकृत तथा जिल्ला अदालतमा श्रेष्तेदार शम्मीकपुर शाहले बताउनुभयो । ।९० हजार ३ सय २७ मतदाता रहेको ताप्लेजुङमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र हो । यहाँ ८० मतदानस्थल र १ सय २७ मतदान केन्द्र रहेका छन् ।

२०७० सालको संबिधानसभाको निर्वाचन यताका सबै निर्वाचनहरुमा ताप्लेजुङ जिल्ला अदालत परिसरमै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएको छ । मतगणना समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमै हुने गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,कोष नियन्त्रक यमनाथ गिरी,जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख अजयकुमार झा सहितको उपस्थिति रहेको थियो ।

Similar Posts