फुङलिङमा बहुउद्देश्यीय सामुदायिक भवन बन्न सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २१ । ताप्लेजुङको फुङलिङमा बन्ने बहुउद्देश्यीय सामुदायिक भवनको सोमवार शिलान्यास गरिएको छ ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख बिष्णुप्रसाद तिवारी,फुङलिङ नगरप्रमुख अमिर मादेन र प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । गत कात्तिक १८ गते बाट झण्डै ४० बर्ष पुरानोसामुदायिक भवन र जिल्ला समन्वय समितिका पदाधिकारीको आवास कक्ष भत्काएर जग्गा सम्याउन थालिएको थियो । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख अमिर मादेनले जिम्मेवारी पाएको निर्माण कम्पनीले निर्धारित मितिमै कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी सेढाईँले निर्माण कम्पनीले सम्झौता अनुसारको काम सम्पन्न गर्न कञ्जुस्याँई गर्न नहुनेमा जोड दिनुभयो । कार्यवाहक जिसस प्रमुख तिवारीले ताप्लेजुङका लागि ऐतिहाँसिक सुरु भएको भन्दै बहुउद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य पूरा भए बर्षौंदेखिको उत्कट चाहना समेत पूरा हुने बताउनुभयो ।
क्रमागत योजना अन्तगत आगामी एक बर्षभित्र भुईँतलामा पार्किङ केन्द्र निर्माण तथा त्यसभन्दा माथि एकतलामा पिलर सहितको ढलान समेत हुने छ । बहुद्देश्यीय भवन पार्किङ,सामुदायिक,प्रशासनिक र आवासीय सहितको ४ तलाको हुने छ । नेपाल सरकारको सघन शहरी तथा भवन भवन निर्माण आयोजना झापा(अहिले पाँचथरमा हस्तान्तरण भएको)ले बहुबर्षे योजना अन्तरगत चालु आर्थिक बर्षमा कुल ५ करोडको ठेक्का आवह्वान भएकोमा केवी जेएनएस जेभी भक्तपुरले भ्याट र पिएस बाहेक ३ करोड २५ लाख १८ हजार ४५७.९० पैसामा ठेक्का पाएको हो । कम्पनीका प्रतिनिधि टंक खतिवडाका अनुसार २०८२ साल असार १९ गते सम्झौता भएको योजना २०८३ साल असार १८ गते भित्र पूरा हुने छ ।‘हामी सम्झौता अवधि भन्दा अघि नै जिम्मेवारी अनुसारको कार्य पूरा गरी योजना नियमक निकायलाई बुझाउने छौं’ निर्माण कम्पनीका प्रतिनिधि खतिवडाले भन्नुभयो‘यो योजना निर्धारित मिति भन्दा अघि नै पूरा गरी प्रसंसापत्र लिएर जाने योजना छ’।
सघन शहरी तथा भवन भवन निर्माण आयोजनाका प्राविधिक खगेन्द्र खतिवडाका अनुसार ग्राउण्ड फ्लोरमा १८ वटा जीप,कार र बाईक पार्किङ गर्ने स्थल हुने छ । भुँईतलामा एक स्टोर रुम र गार्ड हाउस समेत हुने छ । सामुदायिक हलमा कम्तिमा ५ सय जना अट्ने क्षमताको सामुदायिक भवन गरी डिपीआर तयार समेत भएको सघन शहरी तथा भवन भवन निर्माण आयोजनाले जनाएको छ । ग्राउण्ड फ्लोर पूरा गरेर दोस्रो तल्लाको पिलर सहितको ढलान कार्य पूरा भएपछि चालु आर्थिक बर्षको निर्माण कार्य पूरा हुने निर्माणको जिम्मेवारी पाएको कम्पनीका प्रतिनिधिले जनाएका छन् ।
जिल्ला समन्वय समिति छिरिङ प्रमुख लामाका अनुसार बहुद्देश्यीय उक्त भवनमा जिल्लाका ९ स्थानीय तहका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सदरमुकाम आउँदा बस्न मिल्ने कक्ष समेत उक्त भवनमै बनाइने योजना रहेको छ । पञ्चायत रजत जयन्ती २०४२ को अवसरमा निर्माण सुरु गरी २०४३ साल माघ २८ गते तत्कालिन वाणिज्य मन्त्री विजयप्रकाश थेवेले उद्घाटन गरेको सामुदायिक भवन झण्डै ४० बर्ष पछि भत्काईएको हो । लिफ्ट र भ¥याङ समेत हुने उक्त भवनमा रहेको ढुङ्गामध्ये ३ सय २० घनमिटर नयाँ भवनका लागि प्रयोग गरिने छ ।