मानाभरा गोल्डकपमा नवप्रयास सेमिफाइनलमा
चन्द्र पन्दाक ‘प्रयास’
ताप्लेजुङ, पुस १७ । ताप्लेजुङको फुङलिङका हाङ्देवाको नवप्रयास युथ क्लब फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा मेरिङ्देन गाउपालिका–४ लिङ्तेपको प्रगतिशील युवा क्लबलाई २–० गोलले पराजित गर्दै नवप्रयास सेमिफाइनलमा पुगेको हो । नवप्रयासको जितका लागि दुवै गोल निश्चल मोक्तानले गर्नुभएको थियो । यता प्रगतिशील युवा क्लबका खेलाडीले गोल फर्काउने अन्तिमसम्म प्रयास गरे पनि सफल हुन सकेनन् । नवप्रयाससँग पराजित प्रगतिशीलले प्रतियोगिताबाट बाहिरिनुपरेको छ । यता बिहीबारको खेलसँगै आमन्त्रित प्रथम मानाभारा गोल्डकप पुरुष फुटलबल प्रतियोगिताको क्वार्टरफाइनल चरणको समीकरण पूरा भएको छ । अब शुक्रबार एकैदिन सेमिफाइनल चरणको दुई खेल हुने आयोजक मानाभरा स्पोर्टिङ क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी दिनुभयो ।
प्रतियोतिगामा यसअघि माछापोखरी हिटी क्लब चाँगे,लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिम र जनसेवा आदर्श क्लब ढुङ्गेसाँघु सेमिफाइनलमा पुगेका छन् । क्लबका अध्यक्ष दाहालकाअनुसार शुक्रबार हुने सेमिफाइनलको पहिलो खेल माछापोखरी हिटी क्लब र जनसेवा आदर्श क्लबबिच हुने छ । दोस्रो खेल लालीगुराँस स्पोर्टिङ युवा क्लब र नवप्रयास युथ क्लबबिच हुने छ । प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८२ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी,पदक र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल भने शनिबार हुने आयोजकले जनाएको छ ।