२०७९ को निर्वाचन भन्दा ताप्लेजुङमा बढे २ हजार ४२ मतदाता,कुल मतदाता ९० हजार ३२७
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १३ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता हुने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले अन्तिम मतदाता नामावली प्रकाशित गर्दै आउँदो निर्वाचनका लागि उक्त संख्याका मतदाता कायम भएको जनाएको हो । यो २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको भन्दा २ हजार ४२ ले बढी हो । २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ ८८ हजार २ सय ८५ मतदाता कायम भएका थिए । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा १८ हजार १ सय ९० र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ जना मतदाता कायम भएको छ ।
आउँदो निर्वाचनका लागि सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ६४,पाथीभरा याङवरक गाउँपालिकामा ९ हजार ७ सय ४१,आठराई त्रिबेणी गाउँपालिकामा ९ हजार ५ सय १,फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय,सिदिङ्वा गाउँपालिकामा ८ हजार ९ सय १५,मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ हजार ५६ मतदाता कायम भएका छन् । ताप्लेजुङमा आउँदो निर्वाचनका लागि ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र कायम भएका छन् । यसअघि ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेकोमा अहिले ५ मतदान स्थल थप भएका हुन् ।