सिरिजंघामा वन संरक्षण केन्द्रित तालिम सञ्चालन
-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ६ । ताप्लेजुङमा सामुदायिक वन समूहमा आवद्ध रहेका स्थानीयलाई वन संरक्षणमा केन्द्रित क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । वन संरक्षणमा टेवा पु¥याउने उद्देश्य राखेर वन समूहमा आवद्ध स्थानीय उपभोक्ताहरुलाई तालिम प्रदान गरिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङले स्थानीय उपभोक्तालाई वन संरक्षण केन्द्रित तालिम प्रदान गरेको हो । महासंघका जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार यहाँको सिरिजंघा गाउँपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्तालाई सामुदायिक वनको क्षमता अभिवृद्धि, लैंगिक समानता तथा लेखा व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको हो ।
वन तथा वातावरण संरक्षणमा केन्द्रित रहेर स्थानीय उपभोक्तालाई तालिम प्रदान गरिएको ओझाले बताउनुभयो । तालिमको सहयोगले सामुदायिक वन संरक्षणसँगै स्वच्छ वातावरण कायम राख्नमा टेवा पुग्ने अपेक्षा राखिएको ओझाको भनाइ छ । शुक्रबार र शनिबार दुई दिन सञ्चालित तालिममा ४० जना स्थानीय उपभोक्ता सहभागी बन्नुभएको थियो ।
यता तालिममा सामुदायिकको क्षमता अभिवृद्धि र लैंगिक समानतासम्बन्धी महासंघका जिल्ला अध्यक्ष ओझाले सहजीकरण गर्नुभएको थियो । यस्तै लेखा व्यवस्थापनसम्बन्धी प्रशिक्षक रवीन घिमिरेले सहजीकरण गर्नुभएको महासंघकी कर्मचारी अरुणा लिम्बूले जानकारी दिनुभयो । तालिमको उद्घाटनमा सिरिजंघा गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबो लगायतले शुभकामना दिनुभएको थियो ।