पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधि मरिक फुटबल क्लव धरानलाई
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २९ । ताप्लेजुङको तेल्लोकमा सम्पन्न पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधि मरिक फुटबल क्लव धरान सुनसरीले जितेको छ ।
चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपबिजेता रहेको मरिकले तेस्रो संस्करणको उपबिजेता न्यू स्टार फुटबल क्लव झापा माथि ३–१ को जीत दर्ता गर्दै उपाधि आफ्नो हातमा पारेको हो । बिजयी टिमका लागि दुई गोल बिदेशी खेलाडी नानाले गरेका छन् भने अर्को गोल फोफोनाले गरे । फाइनल खेलमा भएका चारवटै गोल बिदेशी खेलाडीले गर्नुभयो । खेलको सुरुआतमै सुशिल राईको कर्नर प्रहारलाई हेडमार्फत पोष्टमा गोलको दिशा दिएका नानाले पहिलो गोल गरेर टिमको अग्रता १–० बनाउनुभयो ।
मध्यान्तर पछि न्यू स्टार खेलमा फर्कियो । न्यू स्टारका लागि अजय मार्टिनले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा ल्याउनुभयो । बराबरीको स्थिति पछि मैदानमा आक्रामक लयमा उत्रिएको मरिकका लागि नानाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रतामा ल्याउनुभयो । सुशिल राईको पासलाई सदुपयोग गर्दै नानाले दोस्रो गोल गर्नु भएको थियो । खेलको निर्धारित समय सकिन केहि मिनेट बाँकी रहँदा मरिकका लागि फोफोनाले उत्कृष्ट गोल गर्दै टिमको जीत सुनिश्चित गर्दा खेल मरिकले ३–१ ले जित्यो ।
जीतसंगै मरिक चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा उदयपुर बेलकाको बद्रर हुड फुटबल क्लवसंग व्यहोरेको हारको नमिठो अनुभवलाई मेट्दै जीतको सुख बोकेर घर फर्कने छ । बिजेता टिमले नगद ३ लाख ३२१ रुपैयाँका साथ सिरिजंगासिंह थेबेको प्रतिमा रहेको तीनबर्षे रनिङ ट्रफी तथा उपबिजेताले नगद १ लाख ५० हजार रुपैयाँका साथ ट्रफी पाएका छन् । सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू(गणेश),विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहितको उपस्थितिमा बिजेताहरुलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको छ ।