कञ्चनजंघा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकपको उपाधि फुङलिङलाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २० । टाईबेक्ररमा मेरिङदेन गाउँपालिकालाई ४–३ ले पराजित गर्दै ताप्लेजुङमा जारी कञ्चनजंघा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकपको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ ।

जीतसंगै फुङलिङले ट्रफीसहित २ लाख २ हजार ८२ रुपैयाँ पुरस्कार पाएको छ । शनिवार भएको भएको फाइनल खेलको निर्धारित खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईबेक्ररबाट लिईएको थियो । टाईबेक्ररमा फुङलिङकातर्फबाट नेहा चौधरी,सम्झना लावती,सुशिला चौधरी र कुमारी गुरुङका प्रहारले गोलको दिशा लिएको थियो भने समिक्षा मगरको प्रहार गोलरक्षक जीना तामाङले असफल तुल्याउनुभयो । मेरिङदेनकातर्फबाट सिम्रन राई,जीना तामाङ र अनुष्का शेर्पाको प्रहार गोलमा परिणत हुँदा मनिता तामाङ र सुष्मा लिम्बूका प्रहार पोष्टबारबाट बाहिरिएका थिए ।

खेलको सुरुआती अग्रता फुङलिङले लिएको थियो । नेपाल पुलिस क्लवको महिला फुटबल टोलीका पूर्व कप्तान समेत रहनु भएकी कुमारी गुरुङले मध्यान्तर अघि सम्झना लावतीको पासमा मेरिङदेन बिरुद्ध पहिलो गोल गर्नुभयो । खेल सकिन केहि समयमात्र बाँकी हुँदा मेरिङदेनका लागि सुष्मा लिम्बूले गोल गर्दै खेललाई बराबरी ल्याउनुभयो । बाँकी अवधिमा दुबै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाईबेक्ररतर्फ धकेलिएको थियो । फाइनल खेलको प्लेयर अफ द म्याच मेरिङदेनकी जीना तामाङ बन्नुभयो । उहाँले नगद ५ हजार रुपैयाँ हात पार्नुभयो ।

प्रतियोगिताको उपबिजेता भएको मेरिङदेनले १ लाख २ हजार ८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । बिजेता टिम तथा खेलाडीलाई कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,फुङलिङ नगरप्रमुख अमिर मादेन,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा सहितले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको छ ।

Similar Posts