फक्ताङलुङमा बहुकक्षा बहुतह तालिम सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १८ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा बिहीबारबाट तीनदिने बहुकक्षा बहुतह तालिम सुरु भएको छ ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालको आयोजनामा सुरु भएको तालिमको फक्ताङलुङ गाउँपालिका शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले शुभारम्भ गर्नु भएको छ । हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोग तथा फक्ताङलुङ गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङको समन्वयमा तालिम सुरु भएको रिड नेपालका जिल्ला कार्यक्रम निर्देशक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
बद्लिदो परिस्थितिमा शिक्षण सिकाईलाई बढी भन्दा बढी प्रभावकारी बनाउन शिक्षकको दक्षता विकासका लागि बहुकक्षा बहुतह तालिम गर्ने गरिन्छ । नवीनतम् विधि र प्रविधिले बिद्यार्थीको सिकाईस्तर,क्षमता र आधुनिक सिद्धान्त अनुसार सहज र सरल सिकाईको वातावरण सृजना गरी प्रभावकारी र वालमैत्री सिकाईको वातावरण तयार पार्न बहुकक्षा बहुतह तालिमलाई निकै प्रभावकारी मानिन्छ । बालबालिकाको सिकाईका सुधार ल्याउनका लागि बिद्यालयको शिक्षण सिकाई पद्धतिमा समेत परिवर्तन जरुरी भएकोले शिक्षकलाई बहुकक्षा बहुतह तालिमका केन्द्रित गर्ने गरिन्छ ।