बिद्यालय पुगेर घर फर्कन कठिनाई हुने बिद्यार्थीहरुलाई सिदिङ्वाले अर्को व्यवस्था नभएसम्म खानेबस्ने व्यवस्था गर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १७ । छात्रावास नभएका र बिद्यालय पुगेर घर फर्कन कठिनाई हुने बिद्यार्थीहरुलाई ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वैकल्पिक व्यवस्था नभएसम्मका लागि खानेबस्ने व्यवस्था गर्ने भएको छ ।

सिदिङ्वा गाउँपालिकाले वडा नं ६ मेहेलेको निलगिरी माध्यमिक बिद्यालयमा आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा पालिका पदाधिकारीले उक्त घोषणा गरेका हुन् । पालिका अध्यक्ष मानबहादुर राईले घरबाट अध्ययनका लागि आउने–जान कठिनाई हुने बिद्यार्थीका लागि वैकल्पिक व्यवस्था नभएसम्म पालिकाले खानेबस्ने व्यवस्था गरिदिने घोषणा गर्नुभयो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले पालिका पदाधिकारीबाट भएको उक्त घोषणा अनुसार बिद्यालय पुगेर घर फर्कन कठिनाई हुने बिद्यार्थीहरुको सूची तयार पारी पालिकाका पेश गर्न निलगिरी माविका प्रधानाध्यापक मोहनचन्द्र साँवालाई आग्रह गर्नुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा बिद्यार्थीले प्रश्न उठाएपछि बिद्यालय पुगेर घर फर्कन कठिनाई हुने बिद्यार्थीहरुलाई पालिकाकोतर्फबाट खानेबस्ने व्यवस्थाको बिषयमा पालिका अध्यक्ष राईले उपाध्यक्ष कृष्णकुमारी कडरियासंग स्थलगत रुपमै सल्लाह गर्नु भएको थियो । पालिका अध्यक्ष राई र उपाध्यक्ष कडरियाकोबिचको छलफलमार्फत बिद्यालय पुगेर घर फर्कन कठिनाई हुने बिद्यार्थीहरुलाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि खानेबस्ने व्यवस्था पालिकाले गर्नेगरी भएको सहमति पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले घोषणा गर्नुभयो ।

सार्वजनिक सुनुवाईका लागि पुगेको पालिकाको टोली समक्ष निलगिरीका बिद्यार्थी जेनी राई र सुबास कटुवालले आफ्नो अवस्था दर्शाउनु भएको थियो । पालिका अध्यक्ष राईले पालिकाले दूरीका हिसावले टाढाबाट आउनुपर्ने र अध्ययन सकेर घर फर्कन अप्ठेरो परिरहेका बिद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माणको प्रकृया अघि बढाउने बताउनुभयो ।‘छात्रावास निर्माण नभईञ्जेलसम्मका लागि हामीले यस्तो समस्या रहेका बिद्यार्थीलाई पालिकाले खानेबस्ने व्यवस्था गर्ने निश्कर्षमा पुगेका छौं’पालिका अध्यक्ष राईले भन्नुभयो । विद्युत समस्याका कारण निलगिरी माविको स्मार्ट बोर्ड सञ्चालनमा नआएको बिषयलाई समेत पालिकाले गम्भिरतापूर्वक लिएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले विद्युतको समस्या समाधान नभईञ्जेलसम्मका लागि बिद्यालयमा रहेको वैकल्किप उर्जा प्रणालीको मर्मत गरी तत्काल समस्या समाधान गर्ने बचन दिनुभयो । त्यसका लागि उनले वैकल्किप उर्जा प्रणालीको मर्मत स्टमेट तयार पारी पेश गर्न प्राविधिकलाई निर्देशन समेत दिनु भएको छ ।

सिदिङ्वा गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम मेहेलेबाट सुरु गर्दा त्यहाँका स्थानीयले केन्द्रीय विद्युत प्रसारण लाइन,खानेपानीको समस्या,बिद्यालय क्षेत्र सुधार कार्यक्रम सहितका बिषयमा पालिकाको जवाफ माग गरेका छन् । मेहेलेका वडाध्यक्ष रत्नकुमार लिङदेनले खानेपानीको समस्या समाधानका लागि आफुले पहल लिएपनि समाधान हुन नसकेको स्वीकार्दै पाइप मर्मत र बिछ्याउने कार्यमा उपभोक्ताले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । पालिका अध्यक्ष राईले मेहेलेमा पानीको समस्या समाधानका लागि पालिकाले प्रयास गरिरहेको र टोल विकास संस्था समेतको अगुवाईमा खानेपानी र सिचाँईको व्यवस्थाका लागि पालिकाले बिशेष योजना बनाउने बताउनुभयो । पाइप दिएपछि त्यसको मर्मत र पाइप बिछ्याउने कार्यमा भने उपभोक्ता पनि अग्रसर हुनुपर्ने उहाँको राय थियो । पालिका उपाध्यक्ष कडरियाले जनताको गुनासो,राय र सुझाव ग्रहणकै लागि पालिकाले सार्वजनिक सुनुवाईमार्फत नागरिकसम्म पुग्ने चेष्टा गरेको भन्दै आफुहरु जनताका गुनासो र सुझावको उचित सम्बोधन र पालना गर्न तयार रहेको बताउनुभयो ।

सेवाग्राहीले जनताको गुनासो सुन्न पालिकाले डेस्कको स्थापना गर्नुपर्ने,डेस्कमा प्राप्त भएका गुनासोलाई कार्यपालिकाले मासिक रुपमै केलाएर सम्बोधन गर्नुपर्ने,पालिकाका पदाधिकारी कम्तिमा दुईमहिनाका एकपटक प्रत्येक वडामा पुगेर जनतासंग प्रत्यक्ष साक्षात्कार गर्नुपर्ने,फुसको छानो बिस्थापन कार्यक्रमलाई पालिकाको गौरवको योजनाको रुपमा समावेश गरी कार्यान्वयन गर्नुपर्ने,घरेलु तथा लघु उद्यम सृजनामा पालिकाले योजना बनाउनुपर्ने,विपद् पूर्व तयारी र विपद् प्रतिकार्यमा पालिकाको टिमले थप सक्रियता देखाउनुपर्ने,पालिकाका प्रत्येक वडाका कम्तिमा एक–एकजनालाई प्राविधिक बिषय पढाई उनीहरुलाई पालिकामै रोजगार दिलाउनुपर्ने सहितका माग गरेका छन् । पालिका अध्यक्ष राईले जनताले उठाएका सवालप्रति पालिकाको ध्यान गएको र जनताकै सुझावको आधारमा अग्रसर हुने बताउनुभयो । कार्यक्रममा पालिकाको वडा नं ३ का वडाध्यक्ष रत्नबहादुर कडरिया,वडा नं ५ का वडाध्यक्ष अमरबहादुर लिम्बू,वडा नं ७ का वडाध्यक्ष लक्ष्मण तामाङ,वडा नं ४ का कार्यवाहक वडाध्यक्ष रत्नबहादुर बिष्ट सहित बिषयगत शाखाका प्रमुखहरुको सहभागिता थियो । सेवाग्राहीले पालिकाले बिद्यालयमा सुरु गरेको अन्तरपुस्ता सीप हस्तान्तरण,कमजोर बिद्यार्थीलाई सिकाई सुधारको बिशेष व्यवस्थासहितको कार्यको प्रशंसा समेत गरेका छन् ।

 

Similar Posts