कञ्चनजंघा सेसेलुङ गोल्डकपः पहिलो चरणको खेल सम्पन्न
-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १६ । ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजंघा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पहिलो चरणको खेल सम्पन्न भएको छ । मंगलबार मेरिङ्देन र सिदिङ्वा गाउँपालिकाबिचको खेल सम्पन्न भएसँगै प्रतियोगिताको प्रि–क्वार्टटर अर्थात पहिलो चरणको खेल सम्पन्न भएको हो ।
पहिलो चरणको अन्तिम खेलमा मंगलबार सिदिङ्वा गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै मेरिङ्देन गाउँपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मेरिङ्देन विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल पुग्नेमा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका बनेको छ ।
प्रि–क्वार्टर चरणअन्तर्गत सोमबारको खेलमा फुङ्लिङ, आइतबारको खेलमा पाथीभरा याङ्वरक र शनिबार भएको उद्घाटन खेलमा विजयी हुँदै मैवाखोला सेमिफाइनलमा पुगेको हो । फक्ताङ्लुङ गाउँपालिकालाई ३–० गोलले पराजित गर्दै फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिबेणी गाउँपालिकालाई ३–१ गोल र सिरिजंघा गाउँपालिकालाई २–० गोलले पराजित गर्दै मैवाखोला गाउँपालिका सेमिफाइनलमा पुगेको हो ।
कञ्चनजंघा फुङ्लिङ क्लबका अध्यक्ष चन्द्र थेबेका अनुसार प्रि–क्वार्टर अर्थात पहिलो चरणको खेल सकिएसँगै बुधबारदेखि सेमिफाइनल चरणको खेल सुरु हुने छ । सेमिफाइनल चरणअन्तर्गत पहिलो खेल बुधबार मैवाखोला गाउँपालिका र फुङ्लिङ नगरपालिकाबिच हुने क्लबका अध्यक्ष थेबेले जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहमध्ये मिक्वाखोला गाउँपालिका भने प्रतियोगितामा सहभागी भएको छैन ।
लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा कञ्चनजंघा फुङ्लिङ क्लब र ङावरक सङ्जुम्भो फुङ्लेङले संयक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको विजेताले दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल खेल भने मङ्सिर २० गते हुने छ । प्रतियोगिता भानुजन माध्यमिक विद्यालय फुङ्लिङको खेलमैदानमा भइरहेको छ ।