ताप्लेजुङमा ५ मतदान स्थल थप,औपचारिक जानकारी आउन भने बाँकी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १४ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा ५ मतदान स्थल थप हुने लगभग निश्चित भएको छ । जिल्ला निर्वाचन कार्यालयले भने मतदानस्थल थप सम्वन्धीको आयोगको निर्णय प्राप्त भई नसकेपनि थप भएको संकेत भने प्राप्त भएको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालले आयोगबाट मतदान स्थल थप सम्वन्धीको औपचारिक निर्णय कार्यालयमा प्राप्त भई नसकेको जानकारी दिनुभयो ।‘तर मतदान स्थल थप भएको हुनसक्ने प्रारम्भिक संकेतहरु भने आएका छन्’दुलालले भन्नुभयो । मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन जिल्ला स्तरीय समितिको बैठकले ५ मतदानस्थल थप तथा दुई मतदान स्थललाई साविक भन्दा केहि वरपर सार्नेगरी निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
सिफारिस अनुसार मैवाखोला गाउँपालिकाको वडा नं ६ फाकुम्बाको असाङलुङ आधारभूत बिद्यालय साम्तुङमा १ सय ३१ मतदाता रहने गरी एक,फक्ताङलुङ गाउँपालिका वडा नं ६ स्थित महेन्द्र आधारभूत बिद्यालय भाङवारीमा ५ सय ३० मतदाता रहने गरी एक र सोहि वडाको लुङथुङ आधारभूत बिद्यालय स्कुलडाँडामा ३ सय ६२ मतदाता हुनेगरी एक मतदान स्थल थप गर्न सिफारिस गरिएको थियो ।
फक्ताङलुङ गाउँपालिकाको वडा नं २ स्थित आर्दश मावि खेजेनिममा ५ सय १३ मतदाता हुनेगरी एक तथा मिक्वाखोला गाउँपालिका वडा नं ४ स्थित जनरात्री आधारभूत बिद्यालय दलैंचामा १ सय ३० मतदाता हुनेगरी एक मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको थियो । सिफारिस गरिएका ५ वटै मतदान स्थल थप भएर आएको हुनसक्ने जिल्ला निर्वाचन कार्यालयको भनाई रहेको छ ।
अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र कायम रहेका छन् । ताप्लेजुङबाट सिफारिस भएका ५ मतदानस्थल कायम गर्न आयोगले निर्णय गरेको औपचारिक जानकारी पुष्टी भएमा ताप्लेजुङमा मतदानस्थलको संख्या ८० र मतदान केन्द्र १ सय २८ पुग्ने छ । यस्तै दुई मतदान स्थल साविक भन्दा केहि वरपर सार्नेगरी निर्णयार्थ आयोगमा सिफारिस गरेको थियो । सिफारिस गरिएका मतदानस्थलहरुमा फुङलिङ नगरपालिका वडा नं २ स्थित याङलीजुङ आधारभूत बिद्यालयमा रहेको मतदान स्थललाई २ नं वडा कार्यालयमा र फुङलिङ नगरपालिका वडा नं ५ स्थित सामुदायिक भवनमा रहेको मतदान स्थललाई ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा सार्नेगरी आयोगमा सिफारिस गरिएको थियो । सामुदायिक भवन अहिले पुर्ननिर्माणको क्रममा भत्काईएपछि बाणिज्य संघको भवनतर्फ केन्द्रित गरी सिफारिस गरिएको थियो । उक्त सिफारिसबारे भने केहि जानकारी बाहिर आएको छैन ।