सानिमा बैंक ताप्लेजुङमार्फत दुई बिद्यार्थीले पाए बार्षिक ५० हजारको छात्रबृत्ति
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १४ । सानिमा बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले ताप्लेजुङका दुईजना बिद्यार्थीलाई जनही बार्षिक ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
आबेदन दिएका ११ मध्ये आबेदनको प्रकृयाभित्र परेका र स्वयं उपस्थित भएका ९ जनाको निबेदनउपर छात्रवृत्ति सिफारिस समितिले पेश भएका कागजात,शैक्षिक नतिजा,घरायसी तथा पारिवारिक अवस्था,विपन्नताको प्रारम्भिक सूचनाको विश्लेषण र अन्तवार्ता समेतका आधारमा छात्रवृत्ति पाउने दुईजनाको नाम छनौट गरेको हो । सानिमा बैंकको फुङलिङस्थित शाखाका प्रवन्धक सुनिल भट्टराईका अनुसार छनौट हुनेमा फुङलिङ नगरपालिका वडा नं ९ कटहरे घर भई जनता मावि हाङदेवामा अध्ययनरत अमिस लिम्बू र सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले घर भई निलगिरी माविमा अध्ययरत डिप्सन बानियाँ रहनु भएको छ । दुबैजना व्यवस्थापन संकायमा अध्ययरत रहनु भएको छ ।
सानिमा बैंकले काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट उक्त जिल्लाका स्थायी बासिन्दा,जेहेन्दार,गरिव तथा विपन्न वर्ग,शाखा रहेको जिल्लाको सामुदायिक बिद्यालयमा निरन्तर ३ बर्ष देखि अध्ययन गरी पहिलो प्रयासमै एसईई उर्तीण भएको र जिल्लाकै सामुदायिक शैक्षिक संस्थामा अध्ययन गर्ने वा गरिरहेका बिद्यार्थीलाइ लामो समयदेखि यस्तो छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । छात्रवृत्ति शैक्षिक संस्थामा भर्ना भएको मितिदेखि लागु हुने छ ।
बैंकका अनुसार छात्रवृत्ति प्राप्त गर्ने बिद्यार्थीले कक्षा ११ र १२ मा कम्तिमा‘बी ’ग्रेडमा उर्तीण हुनु अनिवार्य छ । सो भन्दा तल्लो ग्रेड ल्याएको वा पढाइलाइ निरन्तरता दिन नसकेको वा जिल्लाकै सामुदायिक शैक्षिक संस्थामा नपढेको अवस्थामा छात्रवृत्ति सम्वन्धी करार रद्ध हुने बैंकले जनाएको छ । छात्रवृत्ति प्राप्तकर्तालाइ बैंकले घरायसी खर्च(पकेट मनि)वापत मासिक २ हजारका दरले २४ हजार र शिक्षण संस्थामा लाग्ने पढाइ शुल्क,पाठ्यसामग्री र स्टेशनसरी वापत थप २६ हजार गरी बार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आवेदनका सर्तहरु पूरा भएको अवस्थामा अहिले छात्रवृत्ति प्राप्त गर्ने बिद्यार्थीले कक्षा १२ को अध्ययनका लागि समेत बैंकबाट थप ५० हजार रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ ।