पूर्वी नेपालका तीन जिल्लाका सुरक्षा अधिकारीको बैठक गुफामा सम्पन्न,शान्ति सुरक्षा र अपराध नियन्त्रण मुख्य एजेण्डा

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १४ । पूर्वी नेपालका सीमावर्ती तीन जिल्लाका सुरक्षा अधिकारीहरु शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति निश्कर्षमा पुगेका छन् ।

ताप्लेजुङ,तेह्रथुम र संखुवासभाका सुरक्षा अधिकारीहरु तीनजिल्लाको संगम स्थल मानिने गुफापोखरीमा भेला भएका थिए । बैठकमा सहभागी ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले कार्य सम्पादनका सन्दर्भमा अवलम्बन गरिएका असल अभ्यासहरु साटासाट गर्ने कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन खटिने निचोड निकालिएको जानकारी दिनुभयो । सेढाईँका अनुसार यि तीन जिल्लाका सीमाना जोडिएका नाकाहरुमार्फत हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि तीनवटै जिल्लाका सुरक्षा निकायहरुले समन्वयात्मक कार्य गर्ने बैठकबाट सहमति कायम भएको छ ।

सम्भावित हिमपातजन्य सहितका अन्य विपद्को व्यवस्थापनमा सहकार्य गर्ने,लागू औषध प्रयोग नियन्त्रण तथा सिमानाका बाट हुनसक्ने चोरी निकासी नियन्त्रणमा प्रभावकारी समन्वय कायम गर्ने सहमति समेत बैठकमार्फत भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो । तीन जिल्लाका सुरक्षा अधिकारीबिच फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन र नागरिक हितका अन्य बिषयमा समेत निरन्तर समन्वय र आपसी सहयोग आदान–प्रदान गर्ने निश्कर्षका साथ बैठक सकिएको प्रजिअ सेढाईँले बताउनुभयो ।

Similar Posts