ताप्लेजुङमा आँखा शिविर: ८५० जनाको आँखाको परीक्षण गर्दा १३३ जना मोतियाबिन्दुका बिरामी

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ३० । ताप्लेजुङमा सञ्चालित शल्यकृया सहितको निःशुल्क आँखा शिविर अन्तरगत परीक्षणको दोस्रो दिनसम्ममा १ सय ३३ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । परीक्षणको दोस्रो तथा शिविरको पहिलो दिन आइतवार ६ सय ५३ जनाले आँखाको परीक्षणका लागि नाम दर्ता गराएका छन् । शनिवार १ सय ९७ जनाले नाम दर्ता गराएका थिए ।

नाम दर्ता गराएका ८ सय ५० जनामध्ये १ सय ३३ जनाको आँखाको शल्यकृया गर्नुपर्ने अवस्था देखिएको आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति तथा शिविर प्रचारप्रसार समिति संयोजक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । तिलगंगा आँखा अस्पतालका निर्देशक समेत रहनु भएका विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत नेतृत्वको टोलीले आइतवार बिहानैबाट शल्यकृया गर्नुपर्ने बिरामीको आँखाको शल्यकृया जारी राखेको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले आइतवार अबेरसम्ममा कम्तिमा एकसयजना आँखा रोगीहरुको आँखाको शल्यकृया गरिसक्ने गरी तयारी भएको जानकारी दिनुभयो । डाक्टर सन्दुक र उहाँका छोरा डाक्टर सागर शल्यकृयामा संलग्न रहनु भएको छ । नेपाल नेत्रज्योति संघले शिविर सुरु हुने अघिल्लो दिन शनिवार पनि परीक्षणको सुविधा उपलब्ध गराएको थियो ।

तिलगंगा आँखा अस्पतालको टोलीले परीक्षण तथा उपचार सामग्री जडान तथा व्यवस्थापन सके लगत्तै परीक्षण सुरु गरिएको थियो । शल्यकृया सेवा भने आइतबारबाट मात्र सुरु भएको हो । मंगलवारसम्म चल्ने शिविर नेपाल नेत्रज्योति संघ ताप्लेजुङ मुख्य आयोजक भई तिलगंगा आँखा अस्पताल,तिलगंगा फाउण्डेसन,फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन समेतको आयोजनामा सञ्चालन भइरहेको छ ।

 

Similar Posts