असोज १० पछि ताप्लेजुङमा थपिए करिव ७ सय मतदाता
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २५ । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अन्तरगत अहिलेसम्म ताप्लेजुङमा ६ सय ९३ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार मंगलवार अपरान्हसम्ममा ३ सय ८९ पुरुष र ३ सय ४ महिलाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । मंगलवार किराँत धर्मका महागुरु तथा नेपालका राष्ट्रिय विभूति फाल्गुनन्द जयन्तीको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा भएपनि निर्वाचन कार्यालयको कामकाज भने सदा झैं नियमित रहेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद कात्तिक ३० सम्म मात्र रहेको छ ।
सुरुमा दिनमा कमैमात्र नाम दर्ताका लागि आउने गरेकोमा पछिल्लो सातादेखि नामदर्ता गर्नेको संख्या बृद्धि भएको दुलालले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म नाम दर्ता गराएकाहरुको आधारमा हेर्दा २०८२ साल कात्तिक १६ गतेसम्ममा ताप्लेजुङमा मतदानका लागि योग्य मतदाताको संख्या ८९ हजार ४ सय ९० भएका छन् । त्यसमध्ये प्रदेशसभा १(क)मा ४९ हजार ४ सय ९७ र प्रदेशसभा १(ख)मा ३९ हजार ९ सय ९३ रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पछि नाम दर्ता गरेर फागुन २० गतेसम्म १८ बर्ष पूरा भएकाको संख्या थप र जिल्लान्तर सरुवा गरेका मतदाताको संख्या घटाई निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गर्ने छ ।