फुङलिङमा सकियो समुदायमा आधारित जैविक विविधता संरक्षण कार्यशाला,प्रकृति संरक्षण साझा दायित्व रहने निश्कर्ष

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । कञ्चनजंघा संरक्षण क्षेत्रमा सामुदायिक संलग्नतामा केन्द्रित जैविक विविधता संरक्षणका कुन्मिङ जैविक विविधता कोष (KBF)परियोजनाको दुईदिने कार्यशाला सोमवार फुङलिङमा सम्पन्न भएको छ ।

कार्यशाला आठ महिना लामो यस पहलको अन्तिम चरण हो,जसले हिउँचितुवा र रेडपाण्डा जस्ता लोपोन्मुख प्रजातिहरूको घर रहेको महत्वपूर्ण जैविक विविधताको खानी कञ्चनजङ्घा संरक्षण क्षेत्रको सुरक्षाका लागि आधुनिक प्रविधि र आदिवासी ज्ञानलाई सफलतापूर्वक सदुपयोग गरेको छ । परियोजना अधिकृत बर्षा लेखीका अनुसार कार्यशालाका क्रममा संरक्षणको नेतृत्व गर्दै आएका स्थानीय समुदाय र सरोकारवालाहरूसँग ट्रेल क्यामेरा अनुगमनबाट प्राप्त नतिजा र आईयुसिएन ग्रीन लिस्ट मापदण्डहरुसंगको मूल्याङ्कन लगायत परियोजनाका मुख्य उपलब्धिहरू प्रस्तुत गरिएको थियो । कार्यशालाको अन्त्यमा नेपालमा जैविक विविधता संरक्षण शिक्षालाई प्रवद्र्धन गर्न माध्यमिक विद्यालय तहको लागि तयार गरिएको एउटा स्रोत पुस्तिका(व्यवहारिक मार्गनिर्देशन)कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई हस्तान्तरण गरिएको सञ्चार अधिकृत रवीन राईले जानकारी दिनुभयो ।

परियोजना अधिकृत लेखीका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्जस्ता सरोकारवालाहरूलाई परियोजनाको नतिजा प्रमाणीकरण गर्न र सामूहिक रूपमा व्यवहारिक,सरोकारवाला–संचालित सिफारिसहरू तयार गर्न संलग्न गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो । कार्यशालाबाट प्राप्त नतिजा सिफारिसहरूले कञ्चनजङ्घा संरक्षण क्षेत्र लागि आइयुसिएन ग्रीन लिस्ट र युनेस्को बायोस्फियर रिजर्भ जस्ता सम्भावित अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्ने दीर्घकालीन दृष्टिकोणलाई समर्थन गर्ने आसा बढेको आयोजकको विश्वास रहेको छ ।

केबिएफ परियोजनामार्फत आदिवासी जनता र स्थानीय समुदायको विशेषज्ञताका साथ आधुनिक वैज्ञानिक अनुगमन उपकरणहरूको सफल एकीकरण थियो । यसमा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन प्रणाली स्थापना गर्नका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरूको स्थापना पनि समावेश गरिएको आयोजकको भनाई छ । लेखीका अनुसार यी उपकरणहरू जडान गर्नुपूर्व ताप्लेजुङ सदरमुकाम फुङलिङमा व्यवहारिक तालिमसहित क्षमता विकास कार्यशालाहरू आयोजना गरिएका थिए । कञ्चनजंघा संरक्षण क्षेत्रको तल्लो भाग वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपमा ५ वटा क्लव निर्माण गरी समुदायकै संलग्नतामा ६४ वटा क्यामरा जडान गरी क्यामरा ट्रयापिङ गरिएको थियो ।

कार्यशालामा क्यामरा ट्रयापिङ र त्यसमा कैद भएका वन्यजीवहरुको अवस्थाका बारेमा सहभागी समुदायका सदस्यहरुले विवरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिशेष आकर्षणको रुपमा उपस्थित युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोईले रियोजनाले बायोस्फियर रिजर्भहरूलाई दिगो विकासका लागि सिकाइ स्थलको रूपमा पुनः पुष्टि गरेको र आदिवासी ज्ञान तथा युवा सहभागिताको भूमिकालाई जोड दिएको बताउनुभयो । मानव र बायोस्फियर कार्यक्रम एक अन्तरसरकारी वैज्ञानिक कार्यक्रम हो जसले मानिस र उनीहरूको वातावरण बीचको सम्बन्धलाई बढावा दिन वैज्ञानिक आधार स्थापना गर्ने लक्ष्य राख्छ । यसले प्राकृतिक र सामाजिक विज्ञानहरूलाई जोड्दै दिगो आर्थिक विकासका लागि नवीन दृष्टिकोणहरूलाई प्रवद्र्धन गर्दछ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपाल,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाडसँगको सहकार्यमा युनेस्कोद्वारा कार्यान्वयन गरिएको यस परियोजनाले स्थानीय सरोकारवालाहरूलाई सशक्त बनाउनमा ध्यान केन्द्रित गरेको परियोजनाले जनाएको छ । कार्यक्रमको समापन सत्रमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले प्रकृति संरक्षण सबैको भूमिकाबाट मात्र पूरा गर्न सक्ने बताउँदै सामुहिक प्रयासले प्राकृतिक स्रोतको दिगो सुरक्षा सम्भव हुने बताउनुभयो ।

 

Similar Posts