जिल्लागत छलफलको रायसहित सीमा सञ्चालन लगायतका बिषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै ताप्लेजुङ जेन जी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १५ । सीमानाकाको सहज सञ्चालन र भन्सार कार्यालय स्थापना सहितका बिषयमा छलफल कार्यक्रम सकेका ताप्लेजुङका जेन जी अगुवाहरुले जिल्लाका समसामयिक बिषयमा काठमाडौं केन्द्रित कार्यक्रम तय गर्ने योजना बनाएका छन् ।
जेन जी अगुवा सागर लामगादेका अनुसार मौवाटारमा रहेको भन्सार कार्यालयको स्तरोन्नती,कर्मचारी व्यवस्थापन,सुख्खा बन्दरगाह निर्माण र जिल्लावासीलाई अन्तरदेशिय सीमापासको सहज व्यवस्थापनका बिषयमा प्रधानमन्त्री,अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर कुरा राख्ने योजना छ । भेटका क्रममा ताप्लेजुङमा शुक्रवार भएको छलफल कार्यक्रमबाट प्राप्त निश्कर्ष र सुझाव समेत सरकारलाई अवगत गराइने छ । नेपाल,चीन र भारतलाई जोड्ने सबैभन्दा(अनुमानित २८५ किमी)छोटो दूरीको त्रिदेशीय मार्ग तमोर करिडोर(मुलघाट–दोभान–ओलाङचुङगोला) अन्तरगत सीमानाका टिपताला सडकको स्तरोन्नती र सहज सञ्चालनका लागि समेत नेपाल सरकारमार्फत चीन सरकारको समेत ध्यानाकृष्ट गर्ने योजना रहेको जेन जी अगुवाहरुले बताएका छन् । त्यसका लागि काठमाडौंमा रहेका जेन जी अगुवाहरुको संयोजनमा आफ्ना प्रस्ताव सरकारसमक्ष पेश गर्नेगरी गृहकार्य भइरहेको लामगादेले जानकारी दिनुभयो ।
मौवाटारमा सुख्खा बन्दरगाह निर्माण गर्न सके नेपाल–चीन र भारतको त्रिदेशीय व्यपारिक सम्वन्ध स्थापना गर्न सकिने आशयका साथ फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले यसअघिनै सरकारलाई ध्यानाकर्षण पत्र बुझाईसक्नु भएको छ । जेन जी अगुवाहरुले सीमानाका,मुल भन्सार कार्यालय,मौवाटार सुख्खा बन्दरगाह निर्माण,सडक स्तरोन्नती र सीमापास बितरणका बारेमा सीमा क्षेत्रको पालिका फक्ताङलुङ गाउँपालिका र उक्त गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोलासंग घनिभूत समन्वय गर्ने बताएका छन् । जेन जी ताप्लेजुङका संयोजक गोपाल गुरागाँईका अनुसार शुक्रवार जेन जी ताप्लेजुङद्धारा नेपाल–चीन सीमानाका टिपताला मुल भन्सार कार्यालय सहित उत्तर दक्षिण सडकका बिषयमा सरोकारवालापक्ष समेतको सहभागितामा छलफल कार्यक्रम सम्पन्न भइसकेको छ । जेन जी अगुवाहरुले उक्त छलफलबाट प्राप्त सुझावका आधारमा आफुले उठाएका सवालहरु सरकार र सरकारमार्फत चीनसमक्ष कुटनीतिक पहल गर्ने बताएका छन् ।