साथीभाइ क्लबले जित्यो मेरिङ्देन कप फुटबल उपाधि
 
		-उज्यालो पोष्ट 
ताप्लेजुङ, कात्तिक १२ । ताप्लेजुङमा बुधबार सम्पन्न पॉचौ अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरूष फुटबलको उपाधि साथीभाइ युथ क्लब फुङ्लिङले जितेको छ । जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले उपाधि जितेको हो ।
मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा खेलाइएको फाइनल खेलमा निर्धारित समयावधिभित्र एक–एक गोल बराबरी भएपछि नतिजाका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । यता उपाधि जितसँगै साथीभाइ युथ क्लबले एक लाख ५१ हजार १८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उपविजेता बनेको जनसेवा आदर्श स्पोर्टिङ क्लबले ८१ हजार १८२ रुपियाँ नगदसाथ पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । विजेतालाई मेरिङ्देन गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङ्बाङ लगायतले पुरस्कार राशी तथा ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तिहार पर्वको अवसरमा खाम्लुङस्थित पृथ्वी तथा लेस्नमाया स्मृति क्लबले प्रतियोगिता आयोजना गरेको हो । आयोजक क्लबका अध्यक्ष सुजन सामेखामका अनुसार गत कात्तिक ७ गते शुक्रबार सुरु भएको प्रतियोगितामा तेह्रथम र पाँचथर जिल्लाका क्लबहरुसहित १० टोली सहभागी भएका थिए ।
 
				 
			 
			 
			 
			