पालिकाको निर्णय बमोजिम कार्यान्वयनमा गएका विकास निर्माणका काममा बाधा गरे कारवाही

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ११ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाको निर्णय बमोजिम कार्यान्वयनमा गएका विकास निर्माणका काममा बाधा बिरोध गर्नेलाई जरीवाना गर्ने भएको छ ।

पालिकाले चालु आर्थिक बर्ष २०८२।८३ का लागि पारित गरेको आर्थिक ऐन अनुसार पालिकाको निर्णय बमोजिम कार्यान्वयनमा गएका विकास निर्माणका काममा बाधा बिरोध गरे पहिलोपटकका लागि १ हजार र त्यसपछि पटकैपिच्छे १ हजार ५ सय रुपैयाँका दरले जरीवाना गरिने छ । पालिकाले जथाभावी चौपाया छाड्ने व्यक्तिलाई प्रति चौपाया १ सय रुपैयाँ तथा निशेधित स्थानमा फोहोर बिर्सजन गर्नेलाई पहिलो पटकका लागि ५ सय र त्यसपछि पटकै पिच्छे १ हजार रुपैयाँका दरले जरीवाना गर्ने भएको छ । तोकिएका कर तथा दस्तुर समयसीमामा नबुझाएमा समेत पालिकाले जरीवाना लिने छ । असोज महिना भित्रमा व्यवसाय नविकरण गरेमा जरीवाना नलाग्ने तर त्यसपछि भने १० प्रतिशत जरीवाना लाग्ने छ भने एक आर्थिक बर्षको समाप्ति पश्चात नविकरण गर्न आएमा ५० प्रतिशत जरीवाना लाग्ने पालिकाले निर्णय गरेको छ ।

भूमि कर र घरधुरी कर अभिलेखीकरणको हकमा आर्थिक बर्ष समाप्त भएपश्चात आएमा पहिलोपटकका लागि १० प्रतिशत तत् पश्चात ५० प्रतिशत जरीवाना लाग्ने भएको छ । स्थानीय तहका अरु नियमहरु पालना नगरेमा पालिकाले २ हजार रुपैयाँ जरीवाना लिने भएको छ । पालिकाले दर्ता नगरी व्यपार व्यवसाय सञ्चालन गर्ने र व्यवसायमा मूल्य सूची नराख्ने व्यवसायीलाई १–१ हजार रुपैयाँ जरीवाना लिने भएको छ । पालिकाको अनुमति बेगर नदीजन्य सामग्री उत्खनन् गरेमा पहिलोपटकका लागि १५ हजार र उक्त कार्य दोहोरिएमा पटकैपिच्छे पहिलोपटक तोकिएको शुल्कको दोब्बर जरीवाना लिने पालिकाको निर्णय छ ।

मिति गुज्रिएका सामग्री बिक्री बितरण गरेमा पहिलोपटकका लागि ३ हजार रुपैयाँ र यस्ता कार्य पटक पटक दोहोरिएमा आवश्यक कानुनी कारवाहीका लागि सम्वन्धित पक्षमा लेखी पठाउने गरी नियम बनाईएको छ । पालिका क्षेत्रका नदी तथा खोलाखोल्साहरुमा रहेका जलचरहरु मार्न रसायनिक बिषादी वा करेन्ट वा महाजाल लगाएमा पालिकाले १० हजार रुपैयाँ जरीवाना लिने छ भने उक्त कसुर गर्ने व्यक्तिलाई संघीय तथा प्रादेशिक कानुन समेत आर्कषित गरी कारवाही गरिने भएको छ ।

Similar Posts