सिग्देलको निधनमा शोक मनाउन कात्तिक १२ गते ताप्लेजुङका निजी बिद्यालयको पठनपाठन नहुने
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १० । जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलको निधनमा बुधवार ताप्लेजुङका निजी बिद्यालयहरुले पठनपाठन नगरी बिद्यालयमा शोक मनाउने भएका छन् ।
जिल्ला प्याब्सन ताप्लेजुङको बैठकले कात्तिक १२ गते बुधवार निजी बिद्यालयहरुको पठनपाठन बन्द गरी जिल्लाका सबै निजी बिद्यालयमा शोक मनाउने निर्णय गरेको जिल्ला प्याब्सन ताप्लेजुङका उपाध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । पहिला त्रैमासिक परीक्षा सकिएका निजी बिद्यालयले गत असोज ९ गते र पछि परीक्षा सकिएका बिद्यालयहरुले असोज ११ गते देखि बिद्यालयको पठनपाठन स्थगित गरी कात्तिक १२ गतेदेखि बिद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।
त्रैमासिक परीक्षा पछि दशैं,तिहार र छैटपछि मात्र ताप्लेजुङका निजी बिद्यालयहरुको पठनपाठन हुने गरेको थियो । सोहि अनुसार कात्तिक १२ गतेदेखि प्याब्सन आवद्ध बिद्यालय सञ्चालन हुने गरी यसअघि नै सूचित गरिएको थियो । जिल्ला प्याब्सनका उपाध्यक्ष गुरुङले जिल्ला प्याब्सनका अध्यक्ष सिग्देलको निधनपछि बिद्यालय सुरु हुने पहिलोदिन शोकसभा गर्ने तर बिद्यालयमा पठनपाठन नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यहाँस्थित अक्सफोर्ड मोडल बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका सिग्देलको गत असोज २८ गते ३७ बर्षको उमेरमा निधन भएको थियो । सिग्देल नेपाली काँग्रेस ताप्लेजुङका प्रवक्ता समेत रहनु भएको थियो ।