प्रतिनिधिसभा निर्वाचन: ताप्लेजुङमा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सहितको सिफारिस मागियो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ९ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले वडामा रहने मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सहितको सिफारिसका लागि जिल्लाका सबै वडाहरुमा लिखित पत्राचार गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार यहाँका ६१ वटै वडाहरुलाई लिखित पत्राचार गरी सिफारिस माग गरिएको हो । वडाध्यक्ष वा वडाध्यक्षको कामकाज गर्नेगरि जिम्मेवारी पाएको व्यक्तिको संयोजकत्वमा रहने सिफारिस समितिमा एकजना महिला वडा सदस्य,वडाभित्र मतदान स्थल रहेका बिद्यालय वा संस्थाको प्रमुख वा प्रतिनिधि सदस्य र सम्वन्धित वडाको वडासचिव सदस्य सचिव रहने व्यवस्था निर्वाचन आयोगद्धारा जारी मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ मा उल्लेख गरिएको छ । आयोगले २०८१ साल चैत ५ गते यो कार्यविधि जारी गरेको हो । सोहि कार्यविधिका आधारमा वडास्तरीय समितिले कामकाज गर्नुपर्ने छ ।
समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको अध्ययन अवलोकन गर्ने,मतदान स्थल तथा मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरुको पहिचान गर्ने,मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गर्ने सम्वन्धमा दल,स्थानीय तह र अन्य सरोकारवालासंग समन्वय गर्ने जिम्मेवारी पाएको छ । यसबाहेक समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको नाम र विवरणमा रहेको त्रुटी सच्याउनुपर्ने भएमा वा वडाभित्र नयाँ मतदान स्थल थप गर्नुपर्ने भएमा वा साविकमा रहेका मतदानस्थल हटाउनुपर्ने वा गाभ्नुपर्ने भएमा वा एक मतदान स्थलमा रहेका मतदातालाई अर्को मतदान स्थलमा सार्नुपर्ने भएमा कारण खुलाई प्रमाण संलग्न गरी जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति समक्ष सिफारिस गर्न पाउने जिम्मेवारी रहेको छ ।
वडा स्तरीय समितिबाट प्राप्त सिफारिस प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा प्राप्त भएपछि आवश्यक निर्णय लिने छ । समितिलाई मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गर्ने सम्वन्धमा दल,स्थानीय तथा अन्य सरोकारवालासंग समन्वय गर्ने,वडास्तरीय समितिबाट प्राप्त सिफारिसउपर छलफल तथा निर्णय गरी जिल्लाभित्र कायम गर्नुपर्ने मतदान स्थल तथा मतदान केन्द्र सम्वन्धी एकीकृत विवरण तयार गरी सिफारिस सहित आयोगमा पठाउने मुख्य जिम्मेवारी रहेका छन् ।
समितिमा जिल्ला तहमा क्रियाशिल राजनीतिक दल प्रमुख तथा प्रतिनिधि,जिल्ला समन्वय अधिकारी,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र जिल्ला निर्वाचन अधिकारी सदस्य रहनेछन् । समितिमा सम्वन्धित स्थानीय तहका प्रमुखलाई आमन्त्रित सदस्यका रुपमा बैठकमा बोलाउन सकिने व्यवस्था रहेको छ । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १२३ मतदान केन्द्र कायम रहेका छन् ।
१७० को नयाँ दर्ता,५१ को सरुवा
असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अन्तरगत अहिलेसम्म ताप्लेजुङमा १७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार ५१ जना मतदाताहरुको नामावली सरुवा भएको छ । उक्तमध्ये अधिकाँसले जिल्लान्तर सरुवा लगेका छन् ।
दुलालका अनुसार ५१ मध्ये ४७ जनाले ताप्लेजुङबाट अन्यत्र जिल्लामा मतदाता नामावली सरुवा लगेका छन् भने ४ जनाले जिल्लाभित्रकै एक स्थानबाट अर्को स्थानमा मतदाता नामावली सरुवा गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म नाम दर्ता गराएकाहरुको आधारमा हेर्दा २०८२ साल कात्तिक १६ गतेसम्ममा ताप्लेजुङमा मतदानका लागि योग्य मतदाताको संख्या ८९ हजार ४९० हुने छ । त्यसमध्ये प्रदेशसभा १(क)मा ४९ हजार ४९७ र प्रदेशसभा १(ख)मा ३९ हजार ९९३ रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।