फुङलिङमा एक घरमा आगलागी: ३६ लाख रुपैयाँको क्षति
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ५ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ मा गएराति आगलागी हुँदा ३६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
कञ्चनजङ्घा चोकमा रहेको महेन्द्र सार्कीको झोला बनाउने गोदाममा मङ्गलबार साँझ ७ बजे आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सार्कीको एक तले पक्की घरमा विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार गोदाममा आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको झोला बनाउने मेसिन,२० लाख रुपैयाँ बराबरको तयारी भएका झोला र १३ लाख रुपैयाँ बराबरको झोला बनाउँन प्रयोग गरिने सामग्री गरी जम्मा ३६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।
आगो प्रहरी, नेपाली सेना, चाडपर्व लक्षित संयुक्त पेट्रोल गस्ती टोली, दमकल र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।