असोजको तुलनामा कात्तिकमा प्रतिमन बढीमा ८ हजारसम्मले बढ्यो अलैंचीको मूल्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २ । ‘कालो सुन’को नामले परिचित अलैचीको मुल्य महिना दिनको अन्तरालमा ताप्लेजुङमा प्रतिमन(४० किलोग्राम)को ७ देखि ८ हजार रुपैयाँले बढेको छ ।

असोज महिनाको पहिलो साता सालाखाला ८० हजार रुपैयाँ प्रतिमन कायम रहेको अलैंचीको मुल्य कात्तिक महिनाको पहिलो साता प्रतिमन ८७ हजार रुपैयाँमा कारोवार भइरहेको अलैंची व्यवसायी संघ ताप्लेजुङले जनाएको छ । अलैंची व्यवसायी कमल बरालले भने आइतवार ताप्लेजुङमा ८८ हजार रुपैयाँ प्रतिमनसम्ममा अलैंचीको कारोवार भइरहेको दावी गर्नु भएको छ । अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले आईतवार चलनचल्तिको अलैंची ८६ देखि राम्रो अलैंची ८७ हजार प्रतिमनसम्ममा खरिद बिक्री भइरहेको जानकारी दिनुभयो ।

असोज अन्तिम सातादेखि कात्तिक लागेयता अलैंचीको मुल्य निरन्तर उकालो लागिरहेको व्यवसायी बरालले बताउनु भएको छ । असोज २२ गते ८० हजार प्रतिमनमा कारोवार भएको अलैंचीको मूल्यमा त्यसयता क्रमिक रुपले सुधार भई आइतवार ८८ हजार रुपैयाँ प्रतिमन रहेको व्यवसायी बरालको भनाई रहेको छ । अलैंची व्यवसायी संघका ताप्लेजुङ अध्यक्ष रेग्मी भने आइतवार ८६ हजार देखि राम्रो अलैंची अधिकतम् ८७ हजार रुपैयाँ प्रतिमनसम्ममा खरिद बिक्री भएको बताउँनुहुन्छ । अघिल्लो बर्ष ठूलो दाना भएको,पुच्छर काटेको,धुलो रहितको अलैँची प्रतिमन १ लाख ७ हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना,पुच्छर काटेको,धुलोरहित अलैँची प्रतिमन १ लाख ४ हजारमा खरिद बिक्री भएको थियो । सामान्य गुणस्तर भएको अलैँची प्रतिमन १ लाख १ हजार रुपैयाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् ।

ताप्लेजुङमा साउन अन्तिमदेखि अलैँची टिप्न सुरु हुन्छ । लेकाली क्षेत्रहरुमा कात्तिक अन्तिम साता सम्म टिपाइ हुने गर्छ । अलैंचीलाई ‘कालो सुन’ का अलवा ‘खोल्सीको सुन’ समेत भन्ने गरिन्छ । मसलाजन्य वस्तु अलैंची विश्वमा सबैभन्दा धेरै नेपालमा उत्पादन हुने तथ्याङ्कहरु देखिएका छन् । नेपालमा सबैभन्दा बढी अलैंची ताप्लेजुङमा उत्पादन हुने गरेको छ । नेपालबाट भारत निकासी हुने अलैंचीलाई अस्तित्वमा चुनौती रहेको व्यवसायीले औंल्याएका छन् ।

नेपाली उत्पादनको अलैंचीको आफ्नै बजार नहुनुका कारण नेपाली अलैंची हाल भारतीय अलैंचीका रुपमा तेस्रो मुलुकमा बढी मूल्यमा बिक्री भइरहेको व्यवसायीहरु बताउँछन् । यसबाट नेपाली अलैंचीले मूल्य कम पाउने तथा ब्रान्डिङ हुन नसक्ने समस्या देखिएको व्यवसायीहरुको तर्क छ । हाल अलैंचीको मुख्य बजारका रुपमा रहेका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश, चीन, भारत, कुवेत, इजिप्ट, जोर्डन, अमेरिका, सिंगापुर र नेदरल्याण्ड्स छन् । भारत भने संसारको सबैभन्दा बढी अलैंची निर्यातक राष्ट्र हो ।

एक अध्ययनका अनुसार नेपाली उत्पादनको बढीमा २ प्रतिशतमात्र अलैंची स्वदेशमा खपत भइरहेको छ भने बाँकी ९८ प्रदेश भारतीय व्यवसायी र बजार हुँदै तेस्रो बजारमा पुग्ने गरेको छ । यही कारण मुल्यमा समेत उतारचढाव आइरहने व्यवसायीहरु अनुमान लगाउँछन् ।

Similar Posts