सिरीजङ्गामा लक्षित समूहलाई निःशुल्क एम्बुलेन्स,महिलाका नाममा व्यवसाय दर्ता भए आधा शुल्क मिनाह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २१ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाले लक्षित समूहलाई एम्बुलेन्स भाडा निःशुल्क गर्नेदेखि जेष्ठ नागरिकलाई बर्षमा तीनपटकसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम अघि सारेको छ ।
पालिकाले चालु आर्थिक बर्ष २०८२।८३ का लागि पारित गरेको आर्थिक ऐनमा लिपिवद्ध गर्दै उक्त सेवा अघि सारेको हो । पालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जिव सिंहका अनुसार पालिका भित्रका बाढी पहिरो,चट्याङ लगायका प्राकृतिक प्रकोपबाट घाइते स्थानीयबासी,७० बर्ष माथिका जेष्ठ नागरिक,गर्भवती महिला र ‘क’वर्गको अपाङ्गता परिचयपत्र प्राप्त भएका व्यक्तिले एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका छन् । पालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेसविका,शहीद तथा बेपत्ता पारिएका व्यक्तिको एकासगोलका परिवारलाई समेत एम्बुलेन्स सेवाको भाडादर निःशुल्क गरेको छ । तर निःशुल्क भाडा प्राप्तिका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक वा सम्वन्धित स्वास्थ्य संस्थाले यहाँ उपचार हुन नसकेको भनी थप उपचारका लागि रेफर गरेको सिफारिस पत्र भने अनिवार्य चाहिने पालिकाले जनाएको छ ।
पालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक र ल्याव सेवा सञ्चालन भएका स्वास्थ्य चौकीबाट ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकले बर्षमा बढीमा तीनपटक ल्याव सेवा लिएमा उक्त सेवा समेत निःशुल्क गर्ने भएको छ । बर्षमा बढीमा तीनपटक भन्दा बढी सेवा लिएमा भने जेष्ठ नागरिक उमेर समूहका व्यक्तिले पनि आवश्यक शुल्क तिनुपर्ने छ । पालिका क्षेत्रभित्र सेवा बिस्तारका लागि निःशुल्क जग्गा दिएका व्यक्तिहरुको जग्गा सरकारको स्वामित्वमा आउनु भन्दा अघि सडकले चर्चेको जग्गाको क्षेत्रभित्र जग्गाको भूमिकर मिनाह गर्ने भएको छ । तर,यस्तो जग्गाको धनीपूर्जामा अलैंचीबारी उल्लेख गरेकोभए कृषि क्षेत्र मानी सोहि बमोजिम कर संकलन गरिने पालिकाले जनाएको छ । पालिकाले गरिव परिचयपत्र बाहकलाई विपन्न र असाहाय सिफारिस दस्तुरवापत लाग्ने प्रति सिफारिस दुईसय रुपैयाँ दस्तुर मिनाह गरेको छ । महिलाको नाममा व्यवसाय दर्ता गर्न आएमा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिएको पालिकाले महिला र अपाङ्गता भएका व्यक्तिद्धारा सञ्चालित समूहहरुको व्यवसाय दर्ता र नविकरण शुल्कमा भने सत प्रतिशत छुट दिने भएको छ ।