ताप्लेजुङमा बोलेरो दुर्घटना,तीन जना घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २१ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ मिचिरीङमा मंगलवार बिहान बोलेरो गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बिहान करिब ९ः०० बजे निगुरादिनबाट फुङलिङ सदरमुकामतर्फ जाँदै गरेको मे.१.ज २५१९ नम्बरको बोलेरो गाडी सडकबाट पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार दुर्घटनापछि सडक केही समय अवरुद्ध भए पनि अहिले आवागमन सुचारु गर्ने प्रयास भइरहेको छ । घाइतेहरुलाई उपचारका लागि पाँचथरको फिदिम पठाउने तयारी भइरहेको बताइएको छ ।
दुर्घटनामा परेर घाइते हुनेहरूमा सिदिङवा गाउँपालिका–५ लिम्बुदिन निवासी २५ वर्षीया सविना श्रेष्ठ (टाउको र निधारमा चोट), आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङ निवासी २६ वर्षीया रञ्जिता लिम्बु (बायाँ हात र टाउकोमा चोट) र सोही गाउँपालिकाका निगुरादिन निवासी घनश्याम ब्याङ्गु (बोलेरो चालक) रहनु भएको छ । तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।