खेवाङ खेलकुद महोत्सव तत्कालका लागि स्थगित
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ६ । ताप्लेजुङको खेवाङमा असोज ३० गतेदेखि हुनेगरी यसअघि निर्धारित ‘खेवाङ खेलकुद महोत्सव–२०८२’ तत्कालका लागि स्थगित भएको छ ।
देशको पछिल्लो स्थिति सहितका कारणले तयारीका लागि थप समय आवश्यक भएको भन्दै आयोजक खेवाङ स्पोर्टिङ क्लवले तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको छ । क्लवका अध्यक्ष विनम मावोले यसअघि निर्धारण गरिएको समयमा ‘खेवाङ खेलकुद महोत्सव गर्न नसकिने भन्दै उक्त महोत्सव केहिदिन पछि सार्ने तयारी गरिएको जानकारी दिनुभयो ।‘महोत्सव सञ्चालनको अर्को मिति हामी चाँडै घोषणा गर्ने तयारी गरिरहेका छौं’मावोले भन्नुभयो ।
यसअघि असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म महोत्सव आयोजना गर्नेगरी तयारी गरिएको थियो । महोत्सवमा यसपटक आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सँगै हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्ने तयारी छ । म्याराथनका लागि २२ किलोमिटरको दूरी निर्धारण गरिएको छ । खेबाङ स्पोर्टिङ क्लबको खेलमैदानबाट दौडेर एकचना भन्ज्याङ हुँदै लुङथुङ–त्याम्फू–टावाटार–मानेडाडा–जहाने गाउँबाट फेरी खेलमैदान आइपुग्नु पर्नेगरी हाफ म्याराथनको दूरी तय भएको थियो ।
महोत्सवमा फुटबलसँगै सांस्कृतिक कार्यक्रम पनि समावेश गर्ने तयारी छ । सांस्कृतिक कार्यक्रम तर्फ धान नाच (याःलाङ), च्याब्रुङ नाच (केःलाङ) सँगै खेबाङको मौलिक नाच सरदेवी नाच प्रस्तुत गरिने छ ।