बिक्री र प्रयोगमा प्रतिवन्ध गरिएको पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थ भेटेपछि अनुगमन टोलीद्धारा जफत गरी नष्ट
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ६ । संयुक्त बजार अनुगमन टोलीले मादक पदार्थको बिक्री बितरण तथा प्रयोगमा रोक लगाईको ताप्लेजुङस्थित पाथीभरा क्षेत्रबाट लोकल तथा अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ जफत गरी नष्ट गरेको छ ।
फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाको उपस्थिति तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काको अगुवाईमा सोमवार गरिएको अनुगमनका क्रममा माथिल्लो फेदी,बुलुडाँडा सहितका क्षेत्रबाट स्थानीय उत्पादनको मदिरा र अन्तशुल्क स्टिकर नटाँसिएका बियर जफत गरी नष्ट गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बिक्री बितरण तथा सेवन गर्न प्रतिवन्ध गरिएको पाथीभरा क्षेत्रमा लोकल मदिरा फेला परेपछि जफत गरी नष्ट गरिएको जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख यमनाथ गिरीले अन्तशुल्क स्टिकर नटाँसिएका मादक पदार्थ फेला परेपछि यसका बारेमा गहिरो अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार अनुगमन टोलीले म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ ।
अनुगमन टोलीले पाथीभरा क्षेत्रका होटल तथा पसलहरुमा उपभोग्य बस्तुको बिक्री दरबारे समेत अनुगमन गरेको जनाएको छ ।‘उपभोक्तामैत्री बजार स्थापनाका लागि उपभोग्य बस्तुलाई व्यवसायिक मापदण्ड विपरित जान नदिन जागरण सहित अनुगमनमा निस्किएका हौं’फुङलिङ नगरपालिकाको अनुगमन कार्यदल टोली संयोजक तुलसा निरौलाले बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईले चाडपर्व लक्षित अनुगमनलाई बजारको प्रभाव र चहलपहलसहितका हिसावले वर्गिकरण गरी अनुगमन कार्य अघि बढाईएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय,फुङलिङ नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयले स्थानीय उद्योग बाणिज्य संघसंग मिलेर उपभोक्ता अधिकारको पक्षमा बजार तथा पसलको नियमित अनुगमन गर्दै आइरहेको छ ।
अनुगमनको कार्यतालिका बनाई नियमित र प्रभावकारी रुपले अघि बढाइरहेको सहायक प्रजिअ खड्का बताउँनुहुन्छ । उहाँले उपभोग्य बस्तुको वर्गिकरण गरी नियमित रुपमा अनुगमन गर्नेगरी तयार भएको अनुगमन कार्यतालिकाको प्रभावकारी कार्यान्वयनमा अग्रसर भइरहेको बताउनुभयो । अनुगमन टोलीले आइतवार फुङलिङ बजारको वीरेन्द्रचौक देखि टुक्रे आसपासका क्षेत्रका दैनिक उपभोग्य बस्तु(खाद्यान्न)बिक्री गर्ने केन्द्रहरुको अनुगमन गरेको थियो ।
सोमबार पाथीभरा क्षेत्रको काफ्लेपाटी,बुलुडाँडा र माथिल्लो फेदीका बजार पसलको अनुगमन गरिएको अनुगमन टोलीले जनाएको छ । पाथीभरा क्षेत्रको बजारलाई उपभोक्तामैत्री बनाउने कार्यमा सहयोग गरेको निकाय पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले अनुगमन कार्यप्रति सह्राना व्यक्त गर्दै उपभोक्ताको हितलाई ध्यानमा राख्दै पाथीभरा सिजनको पूर्व सन्ध्यामा गरिएको अनुगमनको प्रशंसा व्यक्त गर्नु भएको छ ।