|

सिदिङ्वा गाउँपालिकामा घर दैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिँदै

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका सबै वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न शिविर सञ्चालन गरिने भएको हो ।
सिदिङ्वा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार शाहका अनुसार असोज २ गते बिहीबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । प्रत्येक वडामा घरदैलोमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणसहितका सेवा प्रदान गर्नेगरी शिविर सञ्चालन गर्न लागेको शाखा प्रमुख शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका सात वटै वडामा असोज २ देखि १० गतेसम्म स्वास्थ्य शिविर सञ्चालन हुने छ । प्रत्येक वडाका घरघरमा पुगेर सञ्चालन गरिने स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ ।
त्यस्तै शिविरमार्फत मधुमेह (सुगर) तथा उच्च रक्तचापको औषधी वितरण, आवश्यकता अनुसार मधुमेहको आरबिएस जाँच सेवा प्रदान गरिने छ । त्यसैगरी ज्येष्ठ नागरिकलाई स्वास्थ्य परमर्श सेवा पनि प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो । शिविरमार्फत ज्येष्ठ नागरिकलाई प्रदान गरिने सेवा निःशुल्क हुने पनि गाउँपालिकाले जनाएको छ ।

Similar Posts