भट्टराई भन्छन्‘संसद बिगठन गलत,राष्ट्रपति र प्रधानमन्त्रीलाई भने‘संविधानको बाटो छाडे किमार्थ सर्मथन हुन्न’

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २७ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले जेन जी पुस्ताको मागको उचित सम्बोधन संसदले नै पूरा गर्न सक्ने विकल्प हुँदाहुँदै संसद बिगठन गरेर मुलुकलाई सहि निकासतर्फ अघि बढाउन चुकेको बताउनु भएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई भन्नु भएको छ‘तपाँईहरुका हरेक कदम संविधानको बाटोबाट भए जनता र हामीले स्वीकार गर्छौ,संविधान बिपरित भए प्रतिवाद गर्छौं’।
शनिवार बिहान एक भिडियो सन्देश जारी गर्दै भट्टराईले संबिधान र लोकतान्त्रिक प्रकृयालाई लिक भन्दा बाहिर जान नदिन शान्त,सभ्य,उत्तेजनाबिहिन र संस्कारपूर्ण हिसावले अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनु भएको छ । उहाँले भदौ २३ र २४ गते भएका सबै घटनाको न्यायिक र निश्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनु भएको छ । नेकपा एमाले र आफु जस्तोसुकै घटनाको न्यायिक र निश्पक्ष छानबिनको पक्षमा रहेको उहाँले भन्नु भएको छ । भट्टराईले एमाले नेतृत्वको सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा आसलाग्दो काम गरेपनि भ्रष्टाचार सुशासनका पक्षमा राज्यका संयन्त्रलाई उचित हिसावले परिचालन गर्न चुकेको स्वीकार गर्नु भएको छ । विगतका कमीकमजोरीको समिक्षा गरी अब पार्टीको नेतृत्व,संगठन र कार्यशैलीमा परिवर्तन गरी अग्रसर हुने प्रतिबद्धता भट्टराईले व्यक्त गर्नु भएको छ ।
बेथिति र भ्रष्टाचारको न्यायिक छानबिनको घेराबाट एमाले र एमाले नेतृत्व नभागेको नभाग्ने प्रष्ट पार्दै भट्टराईले पार्टी पूर्णतया युवामैत्री संगठनिक संरचनाले भरिएको बनाउनेगरी अग्रसर हुने भन्नु भएको छ । एमाले अब जनताको बिचमा,जनताको मनमा र जनताको बिचारको आधारमा चल्ने परिवर्तित संगठनको रुपमा एकीकृत हुने उहाँले बताउनु भएको छ । अबको दायित्व टुटेका मनलाई जोड्ने,खरानी भएको संरचनाको पुर्ननिर्माणमा एक भएर जोडिने,वृहत्त राष्ट्रिय एकताको भावानबाट अग्रसर हुने र अन्तराष्ट्रिय सद्भावपूर्ण नेपाली एकताको सन्देश दिनु रहेको उहाँको भनाई छ । यसका लागि उहाँले सबैपक्षलाई आवह्वान समेत गर्नु भएको छ ।
एमाले पार्टीपंक्तिमा निरासा र बिचलन हुनुपर्ने कुनै कारण नभएकोले परिवर्तित अवस्थाको सन्देशका आधारमा पार्टी निर्माणमा झन् बलियो र एकीकृत रुपमा उभिन उहाँले कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ । उहाँले जेन जी पुस्ताको आन्दोलनको नाम भजाएर अराजक समूहबाट भएको तोडफोड,लुटपाट र आगजानी सहितका पछिल्ला सबै घटनाको निश्पक्ष छानबिन जरुरी भएको समेत बताउनु भएको छ ।