दुर्गादल गुल्मले भन्यो‘अनावश्यक भेला जम्मा हुने देखि हुलहुज्जत नगर’

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । नेपाली सेनाको ताप्लेजुङस्थित दुर्गादल गुल्मले अनावश्यक भेला जम्मा नहुन तथा हुलहुज्जत,तोडफोड,लुटपाट,आगजानी जस्ता कार्य नगर्न आग्रह गरेको छ ।
गुल्मपति सेनानी उमेश खड्काले आन्दोलनको नाममा हुने कुनैपनि प्रर्दशन,तोडफोड,लुटपाट,आगजानी तथा व्यक्ति र सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रुपमा लिई कारवाही हुनेगरी नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयबाट जारी सूचनाको बर्खिलाप नगर्न आग्रह गर्नु भएको छ ।
नेपाली सेनाले जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध गरी परिस्थतिजन्य जिम्मेवारीमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ । सेनाले बिषम परिस्थतिमा अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र संप्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ भने आधिकारितामा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सेनाले भदौ २५ गते साँझ ५ः०० बजेसम्म निशेधाज्ञा जारी रहने तथा त्यसपछि बिहान ६ः०० बजेसम्म कफ्र्यु आदेश जारी रहने बताएको छ । निशेधाज्ञा तथा कफ्र्युको दौरानमा अत्यावश्यक सेवाका सवारी साधनहरु जस्तै एम्बुलेन्स,शव बाहन,दमकल र सुरक्षाकर्मीका सवारीहरु सञ्चालन हुन सक्ने तथा आवश्यक थप सहयोग चाहिएमा नजिकको सुरक्षा निकायसंग सम्पर्क गर्न नेपाली सेनाले आग्रह गरेको छ ।
गुल्ममति खड्काले नागरिकको जीउधनको सुरक्षा तथा तोडफोड,लुटपाट,आगजानी जस्ता कार्य नियन्त्रणका लागि गएरातिबाटनै गुल्मबाट सुरक्षा फोज परिचालित भईसकेको जानकारी दिनुभयो । बुधवार बिहान ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीका साथ नेपाल प्रहरीको टोली पनि परिचालित भइरहेका छन् ।